१७ भाद्र २०८३, बुधबार

नारायणी अस्पताल घटनाको विरोधमा आज देशभर आकस्मिकबाहेकका सेवा बन्द

ड्रागन मिडिया समाचार कक्ष

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूमाथि भएको भनिएको दुर्व्यवहारको विरोधमा आज मंगलबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवा सञ्चालन हुनेछन् भने बहिरङ्गलगायत अन्य सेवा सांकेतिक विरोधस्वरूप बन्द गरिनेछ।

नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी विरोध, तोडफोड र चिकित्सकमाथि हातपात गरेको विवरण सार्वजनिक भएको थियो। घटनामा डा. प्रमोद रामसहितका चिकित्सक तथा स्वास्थ्यकर्मी घाइते भएका थिए। घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

नेपाल चिकित्सक संघका अनुसार घटनामा डा. रामको टाउकोमा चोट लागेको थियो। संघको केन्द्रीय टोली वीरगन्ज पुगेर घाइते चिकित्सक, उनका परिवार, अस्पताल प्रशासन र स्थानीय शाखाका पदाधिकारीसँग घटनाबारे जानकारी लिएको थियो। डा. रामलाई थप उपचार तथा सुरक्षाका लागि काठमाडौँ ल्याउने निर्णयसमेत गरिएको संघले जनाएको छ।

आक्रमणमा संलग्न व्यक्तिमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ को पहिलो संशोधन, २०७९ बमोजिम कडा कानुनी कारवाही गर्नुपर्ने संघको माग छ। संघले स्वास्थ्य संस्थामा निर्भय र सुरक्षित वातावरणमा सेवा दिन पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

संघले दोषीमाथि कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले बल प्रयोग गरेको आरोप लगाएको छ। संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरिएको भन्दै संघले घटनाको भर्त्सना गरेको छ।

चिकित्सकहरूको मानमर्दन र दुर्व्यवहारमा संलग्न रहेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखमाथि तत्काल छानबिन र कारवाही गर्न पनि संघले माग गरेको छ। यद्यपि जिल्ला प्रशासन र प्रहरी पक्षको विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सेवा बन्दका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमा मागिएको छ। संघले आन्दोलनको थप स्वरूप आज बस्ने सर्वपक्षीय भेलाबाट निर्धारण गरिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button