प्रस्तावित निर्वाचन आयुक्त वाग्ले र सुब्बाको आज संसदीय सुनुवाइ
ड्रागन मिडिया समाचार कक्ष
संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको आज मंगलबार सुनुवाइ गर्दैछ।
बिहानका लागि निर्धारित समितिको बैठकमा ओखलढुङ्गाका वाग्ले र काठमाडौँका सुब्बाले आफ्नो योग्यता, अनुभव र निर्वाचन आयोगका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची छ। समिति सदस्यहरूले उनीहरूको अवधारणा, प्राथमिकता र भावी योजनाबारे प्रश्न गर्नेछन्।
संवैधानिक परिषदको गत असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा वाग्ले र सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिश गरेको थियो।
समितिले यसअघि प्रस्तावित प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो। प्रस्तावित प्रमुख आयुक्त कार्कीविरुद्ध एउटा उजुरी परेको छ भने वाग्ले र सुब्बाविरुद्ध उजुरी परेको छैन।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ बुधबार गर्ने कार्यतालिका छ। संसदीय सुनुवाइ समितिबाट सिफारिश अनुमोदन भएपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई नियुक्त गर्ने व्यवस्था छ।





