अन्नपूर्णको चानेमा पहिरो, पाँच परिवारका घरगोठमा क्षति

ड्रागन मिडिया समाचार कक्ष
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, चानेमा आइतबार राति गएको पहिरोबाट पाँच परिवारका घरगोठ, अन्नबाली तथा पशुचौपायामा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोले स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडावर्तन पहिरोमा पुरिएका छन्।
स्थानीय छानबहादुर क्षेत्रीको घर चर्किएको छ भने करिब तीन रोपनी जमिनमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ। खुसीमाया विक र पूर्णबहादुर सुनारका घर पनि पहिरोका कारण जोखिममा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटनामा मानवीय क्षति नभएको जानकारी दिए। घटनाबारे सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि घटनास्थल पुगेको थियो।





