प्रतिबन्धित वस्तु बिक्री नगर्न विभागको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पैठारीमा प्रतिबन्ध लगाइएका वस्तुको अनधिकृत बिक्रीवितरण नगर्न आयातकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई सचेत गराएको छ।
निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले कुनै वस्तुको निकासी वा पैठारीमा प्रतिबन्ध वा नियन्त्रण गर्न सक्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै विभागले व्यवसाय सञ्चालन गर्दा तोकिएका दायित्व, शर्त र बन्देज अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको हो।
प्रतिबन्धित वस्तुको पैठारी, सञ्चय वा बिक्रीवितरण कानुनबमोजिम दण्डनीय हुने विभागले स्पष्ट पारेको छ। कानुनविपरीत कारोबार गरेको पाइए निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनअनुसार कारवाही गरिने विभागले जनाएको छ।
विभागले बजारमा स्वच्छता र उपभोक्ता हित कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको पनि जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार व्यवसायीलाई आवश्यक निर्देशन दिइनुका साथै कानुन उल्लङ्घन गर्ने फर्ममाथि कारवाही भइरहेको विभागको भनाइ छ।
विभागले सोमबार काठमाडौँका नौवटा व्यावसायिक फर्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी र स्थानीय सरोकारवालाको उपस्थितिमा नियमित बजार अनुगमन भइरहेको पनि विभागले स्पष्ट पारेको छ।





