असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, तिरेको रकम भदौमा समायोजन

ड्रागन मिडिया समाचार कक्ष
नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। त्यस अवधिको विद्युत महसुलमा भ्याटसहित रकम भुक्तानी गरिसकेका उपभोक्ताको रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिनेछ।
आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयबाट प्राप्त स्पष्टिकरणअनुसार असार मसान्तसम्म भएको विद्युत खपतमा भ्याट नलाग्ने प्राधिकरणले जनाएको हो। उपभोक्ताले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी बिलबाट घटाउने व्यवस्था मिलाइएको छ।
प्राधिकरणले मासिक रूपमा मिटर रिडिङ गरी विद्युत महसुलको बिल जारी गर्दै आएको छ। असारमा खपत भएको विद्युतको बिल साउनमा जारी गर्दा नयाँ आर्थिक वर्षदेखि लागू भएको भ्याट आकर्षित हुने वा नहुने विषयमा अन्योल उत्पन्न भएको थियो।
प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गरी कानुनी स्पष्टिकरण मागेको थियो। विभागले असार मसान्तसम्मको खपतको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने स्पष्ट पारेपछि प्राधिकरणले रकम समायोजन गर्ने निर्णय गरेको हो।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि भएको विद्युत खपतमा भने भ्याट लागू हुनेछ। आन्तरिक राजस्व विभागका अनुसार न्यूनतम शुल्क वा ‘डिमान्ड चार्ज’ पनि विद्युत सेवाकै अङ्ग भएकाले त्यसमा समेत नियमानुसार भ्याट लाग्नेछ।
मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्थाअनुसार अन्तिम उपभोक्तालाई पाँच प्रतिशत र अन्य उपभोक्तालाई १३ प्रतिशत भ्याट लाग्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यसअघि असार मसान्तसम्म खपत भएको विद्युतको बिलमा समेत भ्याट जोडेर पठाएपछि उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि प्राधिकरणले राजस्व प्रशासनसँग स्पष्टिकरण माग्दै बढी भुक्तानी भएको रकम आगामी बिलमा समायोजन गर्ने व्यवस्था गरेको हो।





