१९ भाद्र २०८३, शुक्रबार

नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा ५७ देश सहभागी हुने

ड्रागन मिडिया समाचार कक्ष

आगामी नोभेम्बरमा आयोजना हुने नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) को राष्ट्रिय प्रदर्शनीमा ५७ देश र तीन अन्तर्राष्ट्रिय संस्थाले सहभागिता पुष्टि गरेका छन्। मोल्दोभा, रोमानिया र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले यसपटक पहिलोपटक सहभागिता जनाउने भएका छन्।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो ब्युरोले सोमबार सांघाईमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक्स्पो नोभेम्बर ५ देखि १० सम्म राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजना हुनेछ। सम्बन्धित देशका प्रान्त, राज्य र शहरलाई समेत प्रदर्शनीमा सहभागी गराउँदै चीन र अन्य देशबीचको स्थानीय तहको सहकार्यका उपलब्धि प्रस्तुत गरिनेछ।

क्यानडाले दोस्रोपटक सम्मानित अतिथि राष्ट्रका रूपमा सहभागी हुने घोषणा गरेको छ। क्यानडा सरकारको व्यापार आयुक्त सेवाले कृषि तथा प्रशोधित खाद्यवस्तु, स्वास्थ्यसम्बन्धी उत्पादन र उपभोक्ता सामग्रीका लागि छुट्टाछुट्टै क्यानाडेली प्रदर्शनी कक्ष सञ्चालन गर्ने जनाएको छ।

सीआईआईई ब्युरोका उपमहानिर्देशक वु चङपिङका अनुसार चीनको राष्ट्रिय प्रदर्शनी कक्षले सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक तथा सामाजिक विकासबाट सिर्जना हुने नयाँ अवसर र भावी दृष्टिकोण प्रस्तुत गर्नेछ।

व्यावसायिक प्रदर्शनीको क्षेत्रफल अघिल्ला संस्करणजस्तै तीन लाख ६० हजार वर्गमिटर कायम गरिएको छ। हालसम्म ९९ देश तथा क्षेत्रका एक हजार दुई सयभन्दा बढी कम्पनीले सहभागिताका लागि सम्झौता गरिसकेका छन्। यो संख्या गत वर्षको यही अवधिको तुलनामा एक सयभन्दा बढी हो।

सम्झौता भएको प्रदर्शनी क्षेत्रफल तीन लाख ४० हजार वर्गमिटर नाघिसकेको छ, जुन निर्धारित लक्ष्यको ९५ प्रतिशत हो। सहभागीमध्ये फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका तथा सम्बन्धित उद्योगको नेतृत्व गर्ने २६५ कम्पनी छन्। यो संख्या गत वर्षको तुलनामा १० बढी हो। एक सय ६९ कम्पनी र ३० विदेशी प्रदर्शनी आयोजकले एक्स्पोका सबै नौ संस्करणमा निरन्तर सहभागिता जनाउने भएका छन्।

विकसित अर्थतन्त्रका कम्पनीहरू प्रदर्शकको मुख्य समूहका रूपमा रहेका छन्। अमेरिकी कम्पनीले सबैभन्दा बढी प्रदर्शनी क्षेत्र सम्झौता गरेका छन् भने फ्रान्स, बेलायत र न्युजिल्याण्डका कम्पनीले आरक्षण गरेको क्षेत्रफल गत वर्षको कुल क्षेत्रफलभन्दा बढी भइसकेको छ।

यस वर्ष एशिया–अफ्रिका उत्पादन क्षेत्रलाई थप विस्तार गरिनेछ। चीनसँग कूटनीतिक सम्बन्ध भएका अफ्रिकी देशका कम्पनी र उत्पादनलाई चीनको शून्य भन्सार नीतिबाट सिर्जित अवसर उपयोग गर्न सहयोग गर्ने एक्स्पो आयोजकले जनाएको छ।

पहिलो आठ संस्करणमा विदेशी कम्पनीले २७ हजारपटक सहभागिता जनाएका थिए। ती प्रदर्शनीमा विश्व बजारका लागि नयाँ रहेका तीन हजार चार सयभन्दा बढी उत्पादन, प्रविधि र सेवा पहिलोपटक प्रस्तुत गरिएको आधिकारिक तथ्याङ्क छ।

यसपटक फ्रान्सको औषधि उत्पादक पिएर फाब्रे, सिङ्गापुरको पेरिनियल होल्डिङ्स, नेदरल्याण्ड्सको रङ तथा कोटिङ कम्पनी अक्जोनोबेल, अमेरिकी फेसन ब्रान्ड राल्फ लरेन, विश्वव्यापी इस्पात उत्पादक आर्सेलरमित्तल र चकलेट उत्पादक गोडाइभाले पहिलोपटक सहभागिता जनाउनेछन्।

‘मोडर्नाइजेसन अफ म्यानेजमेन्ट’ पत्रिकाका कार्यकारी उपप्रधान सम्पादक बियान योङचुले ग्लोबल टाइम्ससँग प्रदर्शनी क्षेत्रफल र सहभागी कम्पनीको निरन्तर वृद्धिले सीआईआईईको अन्तर्राष्ट्रिय प्रभाव तथा विश्वव्यापी व्यवसायका लागि चिनियाँ बजारको महत्त्व बढिरहेको देखाएको बताएका छन्।

उनका अनुसार ठूला बहुराष्ट्रिय कम्पनीका लागि चीनको विशाल बजार, उत्पादन क्षमता, अनुसन्धान संरचना र आपूर्ति श्रृंखला विश्वव्यापी प्रतिस्पर्धात्मकतासँग प्रत्यक्ष जोडिएका छन्। साना अर्थतन्त्रका कम्पनीका लागि भने चिनियाँ बजारमा सफल प्रवेशले उत्पादन र व्यापार विस्तारको ठूलो सम्भावना खोल्न सक्ने भएकाले सीआईआईईप्रतिको आकर्षण निरन्तर बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button