देवानगञ्ज र हरिनगरमा निषेधाज्ञा जारी

ड्रागन मिडिया सम्वाददाता
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकामा जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ।
गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारीदेखि कोशी प्रदेश प्रहरी नेतृत्वसम्म हेरफेर गरेपछि सुनसरीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आदेश जारी गर्दै दुवै गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा कायम रहने जनाएका हुन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी आदेशअनुसार निषेधाज्ञा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म लागू हुनेछ। यस अवधिमा निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन।
आदेश उल्लङ्घन गरे प्रचलित कानुनअनुसार पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद हुन सक्ने प्रशासनले जनाएको छ।
यसैबीच, घटनाबारे छानबिन गर्न गठित समितिले विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर घटनासम्बन्धी जानकारी लिएको छ। समितिका पदाधिकारीले सोमबार बेलुका घाइते तथा सम्बन्धित पक्षसँग घटनाको परिस्थितिबारे जानकारी लिएका हुन्।
समितिले घटनास्थल कप्तानगञ्जको निरीक्षण गर्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी, प्रत्यक्षदर्शी तथा अन्य सरोकारवालासँग थप जानकारी लिने जनाएको छ।





