मल ल्याउँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइको सुनुवाइ शुक्रबार

ड्रागन मिडिया सम्वाददाता
धान रोपाइँका लागि भारतीय बजारबाट रासायनिक मल ल्याउने क्रममा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको धरौटीसम्बन्धी आवेदनमाथि आउँदो शुक्रबार भारतीय अदालतमा सुनुवाइ हुने भएको छ।
कान्तिपुरका अनुसार बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह २७ दिनदेखि भारतको बिहारस्थित डुमरा जेलमा न्यायिक हिरासतमा छन्। उनीहरूलाई धरौटीमा रिहा गर्न माग गर्दै परिवारले दर्ता गराएको निवेदनमाथि १५ साउनमा डुमरा अदालतमा सुनुवाइ हुने भएको हो।
धान रोप्ने समयमा रासायनिक मल नपाएपछि सिंह दाजुभाइ १७ असारमा भारतीय बजार सोनबर्सा पुगेका थिए। त्यहाँबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल किनेर साइकलमा नेपालतर्फ ल्याउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र भारतीय कृषि विभागको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
मल तस्करीको आरोपमा उनीहरूलाई भोलिपल्ट डुमरा जेल चलान गरिएको थियो। दुवैलाई धरौटीमा रिहा गराउन परिवारका सदस्य निरन्तर अदालत धाइरहेका छन्।
सुरेशका छोरा अविनाश सिंहका अनुसार गत शुक्रबार अदालतमा धरौटीको निवेदन दर्ता गरिएको थियो। अदालतले प्रारम्भिक प्रक्रिया पूरा गर्दै सुनुवाइको मिति तोकेको हो।
मुद्दामा बहस गर्ने जिम्मेवारी डुमराका कानुन व्यवसायी किरण चौधरीलाई दिइएको छ। सिंह दाजुभाइका आफन्त प्रवीन सिंहले चौधरीसँग समन्वय गरिरहेका छन्। शुक्रबारको बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्ने वा हिरासतमै राख्ने भन्ने आदेश दिनेछ।
करिब तीन बिघा खेतका लागि मलको खोजीमा भारत पुगेका सिंह दाजुभाइ पक्राउ परेपछि परिवारले अहिलेसम्म मल पाउन सकेको छैन। छिमेकीको सहयोगमा धान रोपाइँ भने गरिएको छ। परिवारले मल उपलब्ध गराउन बलरा–५ को वडा कार्यालयमा निवेदनसमेत दिएको छ।
नेपालमा मुख्य बाली लगाउने समयमा बर्सेनि रासायनिक मलको अभाव हुने गरेको छ। सीमावर्ती मधेशका किसान स्थानीय बजारमा समयमै मल नपाएपछि भारतीय बजारमा निर्भर हुन बाध्य छन्। तर, थोरै परिमाणमा मल ल्याउँदा पनि भारतीय सुरक्षा निकायको नियन्त्रण र कानुनी झमेला बेहोर्नुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट नेता उदय सापकोटाले वास्तविक किसानलाई आवश्यक मल ल्याउन सहजीकरण गर्न गृह मन्त्रालयसँग आग्रह गरिएको बताएका छन्। उनले मल अभाव समाधान गर्न सरकारले बाली लगाउने समयअगावै तयारी गर्नुपर्ने बताए।
कान्तिपुरमा किसान दाजुभाइ भारतीय जेलमा रहेको समाचार प्रकाशित भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले पनि उनीहरूको रिहाइका लागि चासो देखाएका थिए। मन्त्री खनालका अनुसार दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कूटनीतिक समन्वय भइरहेको छ, तर अदालती प्रक्रियाका कारण रिहाइमा ढिलाइ भएको हो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पनि सिंह दाजुभाइको रिहाइका लागि भारतीय सुरक्षा अधिकारीसँग नियमित संवाद भइरहेको बताएका छन्।





