अन्तिम क्षणमा चुक्दा नेपाल नामिबियासँग ३ रनले पराजित

ड्रागन मिडिया सम्वाददाता
अन्तिम ओभरमा जितका लागि आवश्यक रन बनाउन नसक्दा नेपाल आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबियासँग तीन रनले पराजित भएको छ। नेदरल्याण्ड्सको उट्रेच्टमा सोमबार भएको खेलमा २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २०८ रनमात्र बनाउन सक्यो।
आईसीसी र क्रिकबजको खेल विवरणअनुसार टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ५० ओभरमा सात विकेटको क्षतिमा २११ रनमा रोकेको थियो। जवाफी ब्याटिङमा नेपाल लक्ष्यको नजिक पुगे पनि अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्न सकेन।
नेपाललाई अन्तिम दुई ओभरमा जितका लागि २८ रन आवश्यक थियो। ४९औँ ओभरमा ११ रन बनेपछि अन्तिम ओभरमा १७ रनको समीकरण बनेको थियो। अन्तिम ओभरको पहिलो बलमा आरिफ शेखले लेग बाईमार्फत दुई रन पाए भने दोस्रो बलमा एक रन लिएर गुलशन झालाई स्ट्राइक दिए।
गुलशनले तेस्रो बलमा चौका र त्यसपछिका दुई बलमा दुई–दुई रन बनाए। नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले अर्को बल वाइड फालेपछि नेपाललाई अन्तिम बलमा पाँच रन आवश्यक थियो। तर गुलशनले एक रनमात्र बनाउन सकेपछि नेपाल तीन रनले पराजित भयो। अन्तिम ओभरमा नेपालले १३ रन जोडेको थियो। गुलशन १० बलमा १९ र आरिफ ४९ बलमा ३८ रन बनाएर अविजित रहे।
नेपालले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेको थियो। कुशल भुर्तेल ४७ बलमा तीन चौका र एक छक्कासहित ३४ रन बनाएर आउट भए। आसिफ शेखले ८९ बलमा पाँच चौकासहित ४५ रन बनाए।
व्यक्तिगत २२ रन बनाएसँगै आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरे। उनी कप्तान रोहित पौडेलपछि यो उपलब्धि हासिल गर्ने दोस्रो नेपाली ब्याटर बनेका हुन्।
नामिबियाका तीव्र गतिका बलर ज्याक ब्रासेलको छोटो बलविरुद्ध नेपालको मध्यक्रम समस्यामा परेको थियो। उनले इशान पाण्डेलाई १४ र भीम सार्कीलाई एक रनमा आउट गरे। आसिफ पनि छोटो बलमै फाइन लेगमा क्याच भए भने दीपेन्द्रसिंह ऐरी तीन रनमा रनआउट भए।
कप्तान रोहित पौडेलले ५० बलमा तीन चौकासहित ४१ रन बनाए। उनले आरिफसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपालले मध्य ओभरमा आवश्यक गतिमा रन बनाउन सकेन। ब्रासेलले तीन विकेट लिँदा बर्नार्ड स्कोल्ट्जले विकेट नलिए पनि १० ओभरमा १४ रनमात्र खर्चेर नेपालको रन गति नियन्त्रणमा राखे।
यसअघि करण केसीको उत्कृष्ट बलिङका कारण नेपालले नामिबियालाई मध्यम योगफलमा रोकेको थियो। करणले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चेर पाँच विकेट लिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट बलिङ प्रदर्शन हो।
करण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली तीव्र गतिका बलर तथा सन्दीप लामिछानेपछि समग्रमा दोस्रो नेपाली बलर बनेका छन्। सोमपाल कामीले एक विकेट लिए।
नामिबियाका जान फ्राइलिङ्कले १४९ बलमा तीन चौकासहित ठीक एक सय रन बनाए। उनी ४९औँ ओभरमा रनआउट भए। लाउरेन स्टिनकाम्पले ८७ बलमा चार चौका र एक छक्कासहित ५९ रन जोडे। फ्राइलिङ्क र स्टिनकाम्पले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गर्दै नामिबियाको इनिङ्स सम्हालेका थिए।
उट्रेच्टमा जारी त्रिदेशीय श्रृंखलामा नेपालको यो लगातार तेस्रो हार हो। पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग छ विकेटले पराजित भएको थियो। नेपालले दुवै खेलमा समान १५७ रन बनाएको थियो।
यस जितसँगै नामिबिया ३१ खेलबाट २६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। नेपाल भने ३१ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा झरेको छ। नेपालको नेट रनरेट ऋणात्मक ०.०५० छ। समान २४ अंक भएको क्यानडाले नेपालभन्दा तीन खेल कम खेलेको छ।
अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड समान खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ। नेदरल्याण्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो र ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छन्।
लिग २ का शीर्ष चार टोली सन् २०२७ को विश्वकप छनोटमा सोझै पुग्नेछन्। अब पाँच खेल बाँकी रहेको नेपालले सबै खेल जिते पनि अधिकतम ३४ अंकमात्र बनाउन सक्छ। यसकारण शीर्ष चारमा पुग्न नेपालले आफ्ना बाँकी खेल जित्नुका साथै ओमान, नामिबिया र क्यानडाका आगामी नतिजामा पनि निर्भर रहनुपर्ने भएको छ।
नेपालले बुधबार नेदरल्याण्ड्ससँग श्रृंखलाको आफ्नो अन्तिम खेल खेल्नेछ।





