नागढुङ्गा सुरुङमार्ग निर्माण आफ्नो पहिलो निर्णय भएको खनालको दाबी

ड्रागन मिडिया समाचार कक्ष
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी नीतिगत प्रक्रिया आफ्नो नेतृत्वको सरकारबाट शुरु भएको दाबी गरेका छन्। चीनको राजधानी बेइजिङमा रहेका खनालले प्रेषित गरेको प्रेस नोटमा आफू प्रधानमन्त्री पदमा बहाली भएको दिन हस्ताक्षर गरेको पहिलो फाइल नै उक्त सुरुङमार्ग निर्माणसम्बन्धी रहेको उल्लेख गरेका छन्।
“नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको समाचारले अत्यन्त खुसी र गौरवान्वित बनाएको छ,” खनालले प्रेस नोटमा भनेका छन्।
उनका अनुसार सन् २०११ अर्थात २०६८ सालमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने नीतिगत निर्णय गरिएको थियो। आर्थिक वर्ष २०६८–६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको पनि उनले बताएका छन्।
काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनले वर्षौंदेखि भोग्दै आएको अत्यधिक ट्राफिक जाम तथा अव्यवस्थित यातायातको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले सुरुङमार्गको अवधारणा अघि सारिएको खनालको भनाइ छ।
“त्यसबेलाको दीर्घकालीन सोच र राष्ट्रिय आवश्यकताले आज मूर्त रूप लिएको छ। मैले देखेको सपना साकार भएको अनुभूति भएको छ,” उनले भनेका छन्।
खनालले आयोजना सम्पन्न गर्न योगदान पुर्याएका विभिन्न समयका सरकार, प्राविधिक, निर्माणकर्मी, कर्मचारी, जापान सरकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई दिएका छन्।
उनले सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ अध्याय शुरु गर्दै सुरक्षित, सहज र आधुनिक यातायात प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
जापानी सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। उद्घाटनपछि सुरुङमा प्रारम्भिक रूपमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र प्रवेश दिइएको आयोजना पक्षले जनाएको छ।





