१७ भाद्र २०८३, बुधबार

काँकरभिट्टाको विद्यालय आवासमा शिक्षिकाको शव फेला

ड्रागन मिडिया सम्वाददाता

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएकी २९ वर्षीया कविताकुमारी ढुङ्गाना विद्यालय परिसरभित्रको आवासीय कोठामा मृतावस्थामा भेटिएकी हुन्।

ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग उक्त कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र ढुङ्गाना दुवै वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आएका थिए।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा थियो। सोमबार विद्यालय पुनः सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कमा नआएपछि उनीहरू बस्ने कोठाबारे खोजी गरिएको थियो। कोठामा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेको उनले बताए।

प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार बेलुका करिब ४ः३० बजे गुप्ताले ह्वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमती कोठाभित्र मृतावस्थामा भेटिएको, आफू डरका कारण त्यहाँबाट निस्किएको र ताला खोलेर कानुनी प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका थिए।

स्थानीयवासीले गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिँदै गरेको देखेको बताएका छन्। त्यसयता उनी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनास्थलबाट शव नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिए। उनका अनुसार मृत्युको कारण यकिन भइसकेको छैन र शव परीक्षणसहित घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको छ।

सम्पर्कविहीन रहेका गुप्ताको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button