२० भाद्र २०८३, शनिबार

नीति तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्न डंगोलको निर्देशन

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरी शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएकी छन्।

महानगरपालिकाका अनुसार सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय तथा कार्यक्रमका प्रमुखहरूसँग भएको बैठकमा डंगोलले एक हप्ताभित्र वार्षिक कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिएकी हुन्।

उनले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचाअनुसार कार्ययोजना बनाउन, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखबीच सूचकसहितको कार्यसम्पादन सम्झौता साउनभित्र सम्पन्न गर्न तथा सार्वजनिक खरिद प्रक्रियामा लैजानुपर्ने योजनाको सूचना असोजभित्र प्रकाशन गरिसक्न निर्देशन दिइन्।

वडाबाट प्रवाह हुने सेवालाई चुस्त बनाउन केन्द्रबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै उनले कार्यालय सञ्चालनमा मितव्ययिता अपनाउन आग्रह गरिन्। प्रयोग गर्न मिल्ने पुराना सामान मर्मत गर्न र मर्मत गरेर प्रयोग गर्न नसकिने सामानलाई लिलाम प्रक्रियामा लैजान पनि उनले निर्देशन दिइन्।

“सेवा प्रवाहमा चुस्तता र सहजता ल्याउनुहोस्। वित्तीय अनुशासनमा अब्बल हुनुहोस्। गएको वर्षका असल अभ्यासलाई निरन्तरता दिनुहोस् र करको दायरा फराकिलो बनाउनुहोस्,” डंगोलले भनिन्।

उनले सहरी योजना आयोगबाट आवश्यक सहयोगका लागि तीन दिनभित्र माग पठाउन तथा आन्तरिक र बाह्य समन्वय एवं सञ्चारलाई प्राथमिकता दिन निर्देशन दिएकी छन्।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगरपालिकाको पहिचान स्थापित हुने गरी काम गर्न आग्रह गरे।

“हरेक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा छन्। ती नतिजा हासिल हुने गरी योजनाबद्ध कार्यान्वयन गर्न विभागीय प्रमुखहरूले मातहतका कर्मचारीलाई मूल्याङ्कन सूचकसहितको कार्यविवरण दिनुपर्छ,” उनले भने।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले आयोग, विभाग, आयोजना र सचिवालयबीचको निकट सहकार्यबाट दिगो नतिजा हासिल गर्न सकिने बताए। आयोगका सदस्य डा. सुरज काफ्लेले साझा सङ्कल्प र समान दृष्टिकोणबाट अपेक्षित परिणाम प्राप्त हुने धारणा राखे।

बैठकपछि प्रमुखको सचिवालयले निर्णय कार्यान्वयनका लागि सबै विभाग, आयोजना तथा सचिवालयलाई परिपत्र गरेको महानगरपालिकाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button