चिनियाँ दूतावास प्रवेश प्रकरणमा जापानी एसडीएफ अधिकृतमाथि अभियोग

ड्रागन मिडिया समाचार कक्ष
जापानको टोकियोस्थित चिनियाँ दूतावासमा धारिलो हतियारसहित अनधिकृत प्रवेश गरेको आरोपमा जापान सेल्फ डिफेन्स फोर्सका अधिकृत कोदाइ मुरातामाथि अभियोग दर्ता गरिएको छ।
ग्लोबल टाइम्सका अनुसार टोकियोका सरकारी अभियोजनकर्ताले सोमबार मुराताविरुद्ध भवनमा अवैध प्रवेश, धारिलो हतियार नियन्त्रणसम्बन्धी कानुन उल्लङ्घन र धम्की दिएको आरोपमा अभियोग दर्ता गरेका हुन्।
मुराताले गत मार्च २४ मा धारिलो हतियार बोकेर चिनियाँ दूतावास परिसरमा प्रवेश गरी हिंसात्मक धम्की दिएको चिनियाँ पक्षको आरोप छ।
जापानस्थित चिनियाँ दूतावासका प्रवक्ताले घटनाले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको गम्भीर उल्लङ्घन गर्नुका साथै चीनको सार्वभौमिकता र गरिमामाथि आघात पुर्याएको बताएका छन्। घटनाले चिनियाँ कूटनीतिज्ञको व्यक्तिगत सुरक्षा तथा दूतावास परिसरको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उनको भनाइ छ।
“जापानी पक्षले जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ, घटनाको यथाशीघ्र विस्तृत छानबिन गरी मूल कारण पत्ता लगाउनुपर्छ, संलग्नमाथि कडा कारवाही गर्नुपर्छ र यस्ता घटना पुनः हुन नदिन आवश्यक कदम चाल्नुपर्छ,” प्रवक्तालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।
चिनियाँ दूतावासले जापानी पक्षसँग चीन र अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार स्पष्टीकरण दिनसमेत माग गरेको छ।
प्रवक्ताले घटनाले जापानमा अतिदक्षिणपन्थी विचार र शक्तिको विस्तारका साथै एसडीएफका कर्मचारीको व्यवस्थापन तथा प्रशिक्षणमा गम्भीर कमजोरी रहेको देखाएको दाबी गरेका छन्।
इतिहास र ताइवान प्रश्नलगायत चीन–जापान सम्बन्धका प्रमुख विषयमा जापानी सरकारका नीतिले ‘नवसैन्यवाद’ फैलिन सक्ने सामाजिक आधार तयार गरेको आरोप पनि चिनियाँ दूतावासले लगाएको छ।





