चीनमा सरकारी शैक्षिक ऋणबाट तीन करोडभन्दा बढी विद्यार्थी लाभान्वित

ड्रागन मिडिया समाचार कक्ष
चीनको सरकारी शैक्षिक ऋण कार्यक्रमअन्तर्गत सन् २०२५ को अन्त्यसम्म कुल ६९५.८ अर्ब युआन अर्थात करिब १०२.४३ अर्ब अमेरिकी डलर ऋण प्रवाह भएको छ।
चीनको शिक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार उक्त कार्यक्रमबाट तीन करोडभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। आर्थिक कठिनाइका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले चीनले शैक्षिक ऋण कार्यक्रमलाई निरन्तर विस्तार गर्दै आएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सन् २०१२ देखि प्रतिविद्यार्थी वार्षिक ऋण सीमा क्रमशः बढाइएको छ। प्रारम्भमा प्रतिवर्ष छ हजार युआन रहेको ऋण सीमा हाल स्नातक तथा उच्च व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि २० हजार युआन पुर्याइएको छ।
स्नातकोत्तर तहका विद्यार्थीले भने प्रतिवर्ष अधिकतम २५ हजार युआनसम्म सरकारी शैक्षिक ऋण लिन सक्ने व्यवस्था गरिएको छ।
चीनले सन् २०२४ को शरद् सेमेस्टरदेखि स्नातक तथा उच्च व्यावसायिक तहको वार्षिक ऋण सीमा १६ हजार युआनबाट २० हजार युआन र स्नातकोत्तर तहको सीमा २० हजार युआनबाट २५ हजार युआन पुर्याएको थियो।
शिक्षा मन्त्रालयले ऋण सीमा वृद्धि, ब्याज सहुलियत तथा भुक्तानीसम्बन्धी नीतिगत सुधारमार्फत आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई अध्ययन पूरा गर्न सहयोग पुर्याउँदै आएको जनाएको छ।





