काबो भेर्देका काब्रालको गोल विश्वकपकै उत्कृष्ट
ड्रागन मिडिया समाचार कक्ष
काबो भेर्देका रक्षक सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको गोल सन् २०२६ फिफा विश्वकपको उत्कृष्ट गोल घोषित भएको छ।
फिफाले सोमबार सार्वजनिक गरेको मतदान परिणामअनुसार अन्तिम ३२ को खेलमा काब्रालले गरेको आकर्षक गोलले ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड जितेको हो। उज्बेकिस्तानका एल्डोर शोमुरोडोभको गोल दोस्रो र हाइटीका विल्सन इसिडोरको गोल तेस्रो स्थानमा रहे।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाएपछि १०३औँ मिनेटमा काब्रालले दर्शनीय गोल गर्दै काबो भेर्देलाई २–२ को बराबरीमा फर्काएका थिए।
बायाँ भागबाट बल अघि बढाएका काब्रालले अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरलाई छक्याउँदै दायाँ खुट्टाले प्रहार गरेको बल गोलरक्षक एमिलियानो मार्टिनेजलाई पार गर्दै माथिल्लो कुनामा पुगेको थियो। उक्त गोल विश्वकपका सर्वाधिक चर्चित क्षणमध्ये एक बनेको थियो।
“यो साँच्चिकै अविश्वसनीय अनुभव थियो। यस्तो सम्मान हरेक खेलाडीले सपना देख्ने उपलब्धि हो,” काब्रालले फिफासँग भनेका छन्। उनले आफूलाई मतदान गर्ने समर्थकप्रति आभार व्यक्त गर्दै क्लब र राष्ट्रिय टोलीलाई जित दिलाउन थप मेहनत गर्ने बताए।
रोमाञ्चक खेलमा अर्जेन्टिनाले अन्ततः ३–२ को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो। विश्वकपमा पहिलोपटक सहभागी काबो भेर्देले भने साविक विजेताविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै विश्व फुटबलको ध्यान आकर्षित गरेको थियो।
काब्राल यस अवार्ड जित्ने म्याक्सी रोड्रिगेज, डिएगो फोर्लान, जेम्स रोड्रिगेज, बेन्जामिन पाभार्ड र रिचार्लिसनपछिका खेलाडी बनेका छन्।





