श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले सार्वजनिक गरेको शोक सन्देशमा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनमा नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठले पुर्याएको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
उनले श्रेष्ठलाई सरल, निष्ठावान् र लोकतन्त्रप्रति समर्पित नेताका रूपमा आफूले चिन्ने अवसर पाएको बताएका छन् ।
श्रेष्ठको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।





