सुनसरी घटनाका पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु हुनु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले घटनाबारे अनुसन्धान शुरु भइसकेको र दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार कारवाही गरिने स्पष्ट पारेका छन्।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ छ। उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावनाबाट टाढा रहँदै संयम अपनाउन तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले भनेका छन्, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर र आक्रोश हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ।”
मानिसको सबैभन्दा पहिलो धर्म मानिसलाई जोगाउनु रहेको उल्लेख गर्दै उनले सरकारको प्रमुख दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, कसुरदारलाई कारवाही गर्नु तथा पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनु रहेको बताएका छन्।
“सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारवाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो। सरकारले यी सबै काम यथाशक्य चाँडो गर्नेछ,” प्रधानमन्त्री शाहले भनेका छन्।
उनले नागरिकको सुरक्षा, पीडितको न्याय र दोषीलाई कानुनी दायरामा ल्याउने दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याएका छन्।





