चीन–स्लोभाकिया रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन सी चिनफिङको आह्वान
सी चिनफिङको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले पारस्परिक सम्मान र विश्वास, समानता, आपसी लाभ, स्थिरता तथा लचिलोपनमा आधारित रणनीतिक साझेदारी निर्माणका लागि स्लोभाकियासँग मिलेर अघि बढ्न चीन तयार रहेको बताएका छन्।
सोमबारदेखि बुधबारसम्म चीनको राजकीय भ्रमणमा रहेका स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीसँग मंगलबार बेइजिङमा भएको वार्ताका क्रममा राष्ट्रपति सीले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ उच्च तहमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले एकअर्काले अपनाएको विकास मार्गप्रतिको सम्मान तथा मित्रता र सहकार्यप्रतिको दृढ प्रतिबद्धता चीन–स्लोभाकिया सम्बन्धको स्वस्थ र तीव्र विकासका आधार भएको बताए।
उनले स्वच्छ ऊर्जा, डिजिटल अर्थतन्त्र, रोबोटिक्स र कृत्रिम बौद्धिकतालगायत उदीयमान तथा अग्रणी क्षेत्रमा सहकार्यको सम्भावना उपयोग गरी द्विपक्षीय सम्बन्धमा नयाँ उपलब्धि सिर्जना गर्न आह्वान गरे।
दुई देशले संस्कृति, खेलकुद, पर्यटन, युवा तथा स्थानीय तहबीचको आदानप्रदान विस्तार गर्नुका साथै नागरिकको आवतजावतलाई थप सहज बनाउनुपर्ने राष्ट्रपति सीको भनाइ थियो।
स्लोभाकियाका राष्ट्रपति पेलेग्रिनीले आफ्नो देशले चीनसँगको रणनीतिक साझेदारीलाई उच्च महत्त्व दिएको बताउँदै अर्थतन्त्र, व्यापार, कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, रोबोटिक्स र नयाँ ऊर्जामा थप सहकार्यको अपेक्षा व्यक्त गरे।
सिन्ह्वाका अनुसार उनले स्लोभाकियामा लगानी गर्न थप चिनियाँ कम्पनीलाई स्वागत गरिने बताए। औपचारिक वार्ताअघि राष्ट्रपति सीले पेलेग्रिनीका लागि स्वागत समारोह आयोजना गरेका थिए भने मध्याह्न स्वागत भोजसमेत दिइएको थियो।
राष्ट्रपति पेलेग्रिनीले सामाजिक सञ्जाल एक्समा सीसँगको भेटलाई प्रेरणादायी र भविष्यमुखी संवादका रूपमा उल्लेख गरेका छन्। उनले दुवै पक्षले रणनीतिक साझेदारीको महत्त्व र चीन तथा स्लोभाकियाबीच बलियो सम्बन्ध निर्माण गर्ने साझा आकांक्षालाई पुनः पुष्टि गरेको बताए।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको नोभेम्बर २०२४ मा भएको चीन भ्रमणका क्रममा दुई देशले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने निर्णय गरेका थिए।
चीनको परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२५ मा चीन र स्लोभाकियाबीचको व्यापार ८ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको थियो। त्यसमध्ये चीनबाट स्लोभाकियातर्फ भएको निर्यात ४ अर्ब ३९ करोड डलर थियो।
बेइजिङ फरेन स्टडिज युनिभर्सिटीअन्तर्गत एकेडेमी अफ रिजनल एन्ड ग्लोबल गभर्नेन्सका प्राध्यापक छ्वी होङच्यानले ग्लोबल टाइम्ससँग चीन–स्लोभाकिया सम्बन्धको प्रमुख विशेषता स्थिरता र स्वस्थ प्रगति रहेको बताएका छन्।
उनका अनुसार पछिल्ला वर्षमा दुई देशबीचको राजनीतिक विश्वास निरन्तर गहिरिएको छ। धेरै युरोपेली देशले चीनसम्बन्धी नीति पुनःसमायोजन गरिरहेका बेला देखिएको उतारचढावपूर्ण सम्बन्धको पृष्ठभूमिमा चीन र स्लोभाकियाबीचको स्थिर विश्वास विशेष महत्त्वपूर्ण छ।
छ्वीले हरित ऊर्जा, डिजिटल क्षेत्र र बुद्धिमान उत्पादनमा चीनसँग बलियो प्रतिस्पर्धात्मक क्षमता रहेको तथा स्लोभाकियाले व्यावहारिक सहकार्यको नीति अपनाएको बताए। यद्यपि, जटिल युरोपेली राजनीतिक अवस्थाले द्विपक्षीय सहकार्यमा केही अवरोध सिर्जना गर्न सक्ने भएकाले स्थानीय तहमा ठोस परियोजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
निङ्बो विश्वविद्यालयको मध्य तथा पूर्वी युरोपेली देश आर्थिक तथा व्यापार सहकार्य संस्थानका वरिष्ठ अनुसन्धानकर्ता खोङ थ्यानपिङले स्लोभाकियाको अटोमोबाइल उद्योग र चीनको नयाँ ऊर्जा सवारीसाधन तथा विद्युतीय ब्याट्री उत्पादन क्षमताबीच व्यापक सहकार्यको सम्भावना रहेको बताए।
उनका अनुसार नयाँ ऊर्जा सवारीसाधनको औद्योगिक श्रृंखला, ब्याट्री उत्पादन र मोटर उद्योगको रूपान्तरणमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छन्। चीन–मध्य तथा पूर्वी युरोपेली देश सहकार्य संयन्त्रको सक्रिय सदस्यका रूपमा स्लोभाकियाले वैज्ञानिक तथा प्राविधिक सहकार्यलाई पनि निरन्तर प्रवर्द्धन गर्दै आएको छ।
स्लोभाकियाको राष्ट्रपति कार्यालयले जारी गरेको भ्रमण कार्यक्रमअनुसार पेलेग्रिनीले चीनका प्रमुख प्रविधि तथा नवप्रवर्तन केन्द्रको अवलोकन गर्नेछन्। उनले कृत्रिम बौद्धिकता, क्लाउड कम्प्युटिङ र स्वचालित सवारी प्रविधिमा काम गरिरहेको चिनियाँ कम्पनी बाइडु तथा रोबोट प्रविधिसम्बन्धी केन्द्र भ्रमण गर्ने कार्यक्रम छ।
वार्ताका क्रममा राष्ट्रपति सीले चीन र स्लोभाकियाले संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली तथा अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्था कायम राख्नुपर्ने बताए।
उनले समान र व्यवस्थित बहुध्रुवीय विश्व तथा सर्वहितकारी र समावेशी आर्थिक विश्वव्यापीकरणलाई संयुक्त रूपमा अघि बढाउँदै मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणमा योगदान दिनुपर्ने धारणा राखे।
चीनले युरोपेली सङ्घलाई सधैँ साझेदारका रूपमा हेरेको र इमानदारी तथा सद्भावका साथ सम्बन्ध विकास गरिरहेको उल्लेख गर्दै सीले चीन–युरोप सम्बन्धको स्वस्थ र स्थिर विकासमा रचनात्मक भूमिका खेल्न स्लोभाकियालाई आग्रह गरे।
राष्ट्रपति पेलेग्रिनीले युरोपेली सङ्घको सदस्यका रूपमा स्लोभाकिया चीन–युरोप सहकार्य प्रवर्द्धन गर्न तथा मतभेदलाई संवाद र परामर्शबाट समाधान गर्न सक्रिय रहने बताए।
उनले बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घीय बडापत्रका उद्देश्य र अन्तर्राष्ट्रिय कानुनको संरक्षणका लागि चीनसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कृत्रिम बौद्धिकताको विश्वव्यापी शासन व्यवस्थालाई सुदृढ बनाउन पनि चीनसँग समन्वय बढाइने उनको भनाइ थियो।
विश्लेषकहरूका अनुसार स्लोभाकियाले युरोपेली सङ्घभित्र चीनसँग व्यावहारिक सहकार्यको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। चीन–युरोप व्यापार तनाव कायम रहेको तथा युरोपभित्र चीनसम्बन्धी नीतिमा मतभेद बढिरहेको अवस्थामा बेइजिङ र ब्रातिस्लाभाबीचको उच्चस्तरीय संवादले द्विपक्षीय सहकार्यसँगै समग्र चीन–युरोप सम्बन्धलाई स्थिर बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।





