इरानबाट प्रहार गरिएका सबै ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको अमेरिकी सेनाको दाबी

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी सेनाले इरानबाट मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडातर्फ प्रहार गरिएका धेरैवटा ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक रोकेको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोरले अमेरिकी पूर्वी समयअनुसार साँझ ५ः४५ बजे अमेरिकी सेनामाथि ‘आश्चर्यजनक आक्रमण’ गर्ने प्रयासस्वरूप क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो।
“इरानबाट प्रहार गरिएका सबै क्षेप्यास्त्र सफलतापूर्वक रोकिएका छन्,” सेन्टकमले भनेको छ, “अमेरिकी सेना सतर्क र उच्च तयारीको अवस्थामा छ।” अमेरिकी दाबीबारे इरानले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
सीएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानबाट चारवटाभन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार नभएको जनाएको छ। यद्यपि, सेन्टकमले क्षेप्यास्त्रको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन।
यसअघि मंगलबार सेन्टकमले इरानी बन्दरगाहमाथि अमेरिकाले घोषणा गरेको नौसैनिक नाकाबन्दी कार्यान्वयन गर्ने क्रममा हर्मुज जलडमरु हुँदै गइरहेका १८ वटा व्यापारिक जहाजलाई मार्ग परिवर्तन गराएको जनाएको थियो। अमेरिकी सेनाले दुईवटा जहाजलाई निष्क्रिय बनाएको र अन्य दुईवटामा चढेर नियन्त्रणात्मक जाँच गरेको पनि सेन्टकमको दाबी छ।
सेन्टकमका अनुसार अमेरिकी सैन्य अभियानलाई सहयोग गर्न मध्यपूर्वका विभिन्न क्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोत परिचालित छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वार्तालाई अर्को अवसर दिन इरानमाथिको अमेरिकी आक्रमण अस्थायी रूपमा रोक्ने निर्णय गरेको बताएका थिए। उनले वार्ता असफल भए थप सैन्य कारवाहीको आदेश दिन सक्ने चेतावनीसमेत दिएका थिए।
इरानबाट कथित क्षेप्यास्त्र प्रहार भएको अमेरिकी दाबीले वार्ताको सम्भावना पुनः अनिश्चित बनाएको छ। घटनाबारे तेहरानको आधिकारिक धारणा र क्षेप्यास्त्रको लक्ष्यसम्बन्धी स्वतन्त्र पुष्टि भने सार्वजनिक भइसकेको छैन।





