साङ्घाई भावनालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न एससीओ शिखर सम्मेलनको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
साङ्घाई सहयोग संगठन (एससीओ) को सन् २०२६ सञ्चार तथा थिङ्क ट्याङ्क शिखर सम्मेलन किर्गिस्तानको राजधानी बिश्केकमा आयोजना भएको छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वा र किर्गिस्तानको काबार राष्ट्रिय समाचार संस्थाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा करिब १५० प्रमुख सञ्चारमाध्यम, प्रतिष्ठित थिङ्क ट्याङ्क, सरकारी विभाग, एससीओ सचिवालय तथा अन्य संस्थाका करिब २६० प्रतिनिधि सहभागी भएका छन्।
आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुने सम्मेलनको सोमबार आयोजित उद्घाटन समारोह र पूर्ण बैठकमा सहभागीहरूले ‘नयाँ युगमा साङ्घाई भावनाः साझा मूल्यबाट व्यावहारिक सहकार्यतर्फ’ भन्ने मूल विषयअन्तर्गत एससीओका विभिन्न क्षेत्रमा सहकार्य थप गहिरो बनाउने उपायबारे छलफल गरेका थिए।
सन् २०२६ मा एससीओ स्थापनाको २५औँ वार्षिकी परेको छ। सन् २०२५ सेप्टेम्बरमा आयोजित एससीओ थ्येनचिन शिखर सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले संगठन स्थापनाकै समयमा पारस्परिक विश्वास, आपसी लाभ, समानता, परामर्श, सभ्यताको विविधताप्रति सम्मान र साझा विकासको खोजीमा आधारित ‘साङ्घाई भावना’ स्थापित गरिएको बताएका थिए।
राष्ट्रपति सीका अनुसार सदस्य राष्ट्रहरूले यही भावनाअनुसार अवसर साझा गर्दै साझा विकासको खोजी गरेका कारण एससीओ विकास र सहकार्यमा ऐतिहासिक तथा अग्रगामी उपलब्धि हासिल भएका छन्।
इरानको मेहर मिडिया समूहका प्रमुख कार्यकारी अधिकृत मोहम्मद मेहदी रहमतीले साङ्घाई भावना सदस्य राष्ट्रहरूबीच साझा समझदारी निर्माण गर्ने आधार भएको बताए। यस्तो समझदारीले सदस्य राष्ट्रहरूको विकास र क्षमता अभिवृद्धिलाई लक्षित तथा सही दिशामा अघि बढाउने उनको भनाइ थियो।
एससीओ सचिवालयका वरिष्ठ विशेषज्ञ कादिरबेक सार्बाएभले साङ्घाई भावनालाई कायम राख्दै एससीओ युरेसियाली क्षेत्रको महत्त्वपूर्ण शक्तिका रूपमा विकसित भइरहेको बताए। उनका अनुसार क्षेत्रीय तथा विश्वव्यापी तहमा संगठनको आवाज थप स्पष्ट र प्रभावशाली बनेको छ।
ताजिकिस्तानको खोवर राष्ट्रिय समाचार संस्थाका निर्देशक सुभिद्दिन शामसिद्दिनजोडाले फरक संस्कृति, इतिहास, आर्थिक क्षमता र विकास मार्ग भएका देशलाई पारस्परिक सम्मानका आधारमा एक ठाउँमा ल्याएको एससीओ बहुपक्षीय सहकार्यको प्रतिनिधिमूलक नमुना बनेको बताए।
सम्मेलनमा सञ्चार, संस्कृति, अर्थतन्त्र, शिक्षा, प्रविधि र मानव संसाधनलगायत क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।
बेलारुसको बेलारुसियन टेलिग्राफ एजेन्सीका महानिर्देशक आन्द्रेई मोखरले विश्वव्यापी परिस्थितिमा तीव्र परिवर्तन भइरहेका बेला वस्तुगत र निष्पक्ष अन्तर्राष्ट्रिय जनमत निर्माणमा सञ्चारमाध्यमको भूमिका थप महत्त्वपूर्ण बनेको बताए। एससीओ सदस्य राष्ट्रका सञ्चारमाध्यमबीचको आदानप्रदान र सहकार्यले सांस्कृतिक सञ्चारको गुणस्तर तथा प्रभावकारिता उल्लेखनीय रूपमा बढाउन सक्ने उनको भनाइ थियो।
किर्गिस्तानको ‘ओई ओर्दो’ विशेषज्ञ पहल केन्द्रका निर्देशक इगोर शेस्ताकोभले एससीओको सफ्ट पावरमा विशिष्ट र विशाल सम्भावना रहेको बताए। सदस्य राष्ट्रमा रहेको शक्तिशाली विशेषज्ञ क्षमतालाई वास्तविक एकीकरण परियोजनामा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले उल्लेख गरे।
रुसको सरकारी समाचार संस्था तासका उपमहानिर्देशक मरात अबुलखातिनले तास र सिन्ह्वाले हालै रुसमा संयुक्त अन्तर्वार्ताको पहिलो चरण सम्पन्न गरेको र दोस्रो चरण चीनमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।
उनले गहिरो संवाद, संयुक्त कार्य तथा एकअर्काको वास्तविक जीवनबारे व्यापक बुझाइबाट बलियो सम्बन्ध निर्माण हुने र त्यही सम्बन्ध साङ्घाई भावनाको आधार भएको उल्लेख गरे।
मध्य एसिया अन्तर्राष्ट्रिय वाणिज्य संघका अध्यक्ष मक्सत चाकिएभले एससीओले फरक संस्कृति, आर्थिक ढाँचा र राष्ट्रिय स्वार्थ भएका सदस्य राष्ट्रबीच पारस्परिक विश्वासको क्षेत्र निर्माण गरेको बताए।
उनका अनुसार संगठनको आगामी चरणको प्रमुख कार्य उक्त विश्वासलाई आर्थिक सम्पर्कमा रूपान्तरण गर्नु तथा साझा विकास र मूल्य अभिवृद्धिका लागि नयाँ क्षेत्र निर्माण गर्नु हो।
उज्बेकिस्तान विज्ञान प्रतिष्ठानअन्तर्गत समकालीन इतिहास केन्द्रका विभागीय प्रमुख मिर्जोखिद रखिमोभले एससीओ सदस्य राष्ट्रले शिक्षा, संस्कृति र मानव संसाधन विकासका परियोजनामा घनिष्ठ साझेदारी विस्तार गरिरहेको बताए। यसले सदस्य देशका नागरिकबीच आदानप्रदान र सहकार्यलाई थप प्रवर्द्धन गरेको उनको भनाइ थियो।
भारत–चीन आर्थिक तथा सांस्कृतिक परिषदका महासचिव मोहम्मद साकिबले नयाँ युगमा साङ्घाई भावनाको महत्त्व साझा मूल्यमा एकता निर्माण गर्नुमात्र नभई साझा प्रणाली विकास गर्न र समावेशी शासनका लागि कार्ययोजना उपलब्ध गराउनु पनि रहेको बताए।
उनले सम्मेलनको विषय केवल शीर्षक नभई सहकार्यसम्बन्धी घोषणालाई वास्तविक कार्यमा रूपान्तरण गर्न गरिएको आह्वान भएको उल्लेख गरे।
सिन्ह्वाका अनुसार सम्मेलनका सहभागीहरूले एससीओभित्र सञ्चारमाध्यम र थिङ्क ट्याङ्कबीच सहकार्य सुदृढ गर्दै साझा मूल्यलाई ठोस परियोजना, आर्थिक सम्पर्क, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सहकार्यमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।





