चिनियाँ विद्युतीय सवारीमाथिका टर्कियेका प्रतिबन्ध डब्लुटीओ नियमविपरीत ठहर

ड्रागन मिडिया समाचार कक्ष
विश्व व्यापार संगठन (डब्लुटीओ) को विवाद समाधान प्यानलले चीनबाट आयात हुने विद्युतीय तथा केही अन्य प्रकारका सवारीसाधनमाथि टर्कियेले लगाएका अतिरिक्त शुल्क र आयात अनुमति व्यवस्थाका मुख्य प्रावधान विश्व व्यापार नियमविपरीत रहेको ठहर गरेको छ।
चीनको वाणिज्य मन्त्रालयले मंगलबार सार्वजनिक गरिएको प्यानल प्रतिवेदनको स्वागत गर्दै यसले चीनका प्रमुख दाबीलाई समर्थन गरेको जनाएको छ।
मन्त्रालयको सन्धि तथा कानुन विभागका एक अधिकारीका अनुसार टर्कियेले सन् २०२३ देखि चिनियाँ विद्युतीय सवारीसाधन, बाह्य रूपमा चार्ज गर्न मिल्ने हाइब्रिड सवारी तथा केही अन्य सवारीमा अतिरिक्त भन्सार शुल्क र आयात अनुमति प्रमाणपत्रसम्बन्धी व्यवस्था लागू गर्दै आएको थियो।
डब्लुटीओको आधिकारिक विवरणअनुसार प्यानलले चिनियाँ विद्युतीय सवारीमाथिका अतिरिक्त शुल्क टर्कियेले डब्लुटीओमा प्रतिबद्धता जनाएको अधिकतम भन्सार दरभन्दा बढी रहेको ठहर गरेको छ। यसले चीनबाट आयात हुने वस्तुलाई टर्कियेको भन्सार सूचीमा उल्लेख भएभन्दा कम अनुकूल व्यवहार प्रदान गरेको प्यानलको निष्कर्ष छ।
विद्युतीय सवारी आयातमा टर्कियेले सामान्य १० प्रतिशत भन्सार शुल्कका अतिरिक्त चीनबाट आउने सवारीमा ४० प्रतिशत अतिरिक्त शुल्क लगाएको थियो। यसबाट चिनियाँ विद्युतीय सवारीमाथिको प्रभावकारी कुल शुल्क ५० प्रतिशत पुगेको थियो, जबकि डब्लुटीओमा टर्कियेले प्रतिबद्धता जनाएको अधिकतम दर २० प्रतिशत थियो।
प्यानलले केही हाइब्रिड सवारीमाथि लगाइएका अतिरिक्त शुल्क पनि टर्किएको भन्सार प्रतिबद्धताविपरीत रहेको जनाएको छ। यद्यपि, चीनले आन्तरिक दहन इञ्जिनयुक्त केही सवारीमाथिका शुल्कसम्बन्धी आफ्ना सबै दाबी पर्याप्त रूपमा पुष्टि गर्न नसकेको र केही वर्गका हाइब्रिड सवारीमाथिका शुल्क नियमविपरीत नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
टर्किएको आयात अनुमति योजनाअन्तर्गत चीनलगायत केही देशबाट विद्युतीय तथा बाह्य रूपमा चार्ज गर्न मिल्ने हाइब्रिड सवारी ल्याउने आयातकर्ताले बिक्रीपछिको सेवासँग सम्बन्धित पाँचवटा शर्त एकैसाथ पूरा गर्नुपर्ने व्यवस्था थियो।
डब्लुटीओ प्यानलले ती शर्त र तिनलाई आयात अनुमतिमार्फत कार्यान्वयन गर्ने व्यवस्था चिनियाँ सवारीलाई टर्कियेमा उत्पादित समान प्रकारका सवारीको तुलनामा कम अनुकूल व्यवहार गर्ने प्रकृतिको रहेको ठहर गरेको छ। यसलाई टर्कियेले उपभोक्ता संरक्षणसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक भएको प्रमाणित गर्न नसकेको पनि प्यानलको निष्कर्ष छ।
चीनको वाणिज्य मन्त्रालयले टर्किएका उपायले चीनको वैधानिक व्यापारिक हित तथा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धमा गम्भीर क्षति पुर्याएको जनाएको छ।
चीनले टर्कियेलाई डब्लुटीओ प्यानलको निष्कर्षको सम्मान गर्न, ठोस कदम चाल्न तथा नियमविपरीत रहेका उपाय यथाशीघ्र सच्याउन आग्रह गरेको छ।
चीनले पारस्परिक लाभमा आधारित खुलापनको रणनीति दृढतापूर्वक अवलम्बन गर्दै आएको र डब्लुटीओ केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्ने मन्त्रालयका अधिकारीले बताए।
बहुपक्षीय व्यापार नियमको पालनाका आधारमा नयाँ ऊर्जा सवारीसाधनलगायत क्षेत्रमा व्यापार तथा लगानी सहकार्यको गुणस्तर र स्तर बढाउन सबै पक्षसँग मिलेर काम गर्न चीन तयार रहेको उनले उल्लेख गरे।





