युक्रेनले ड्रोनमा प्रयोग गर्ने गोलाबारुद किन्न इटालीको माफियाको प्रयास

ड्रागन मिडिया समाचार कक्ष
इटालीका माफिया समूहहरूले युक्रेनले ड्रोनमा प्रयोग गरिरहेका गोलाबारुद खरिद गर्ने प्रयास गरिरहेको तासले जनाएको छ।
इटालीको समाचार संस्था एएनएसएले पालेर्मोका प्रमुख अभियोजकलाई उद्धृत गर्दै माफिया समूहहरू युक्रेनमा प्रयोग भइरहेका ड्रोनसम्बन्धी गोलाबारुद प्राप्त गर्न सक्रिय भएको जानकारी दिएको हो। यद्यपि, गोलाबारुद खरिदको प्रयासमा संलग्न समूह, परिमाण तथा सम्भावित आपूर्ति मार्गबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसअघि जर्मन पत्रिका ‘बर्लिनर साइटुङ’ले युक्रेनलाई आपूर्ति गरिएका हतियारमाथि पर्याप्त अनुगमन र नियन्त्रण नभए ती हतियार युरोपको कालोबजारमा फैलिन सक्ने चेतावनी दिएको थियो।
युक्रेनमा पठाइएका हतियार र गोलाबारुद अवैध आपराधिक सञ्जालसम्म पुग्न सक्ने जोखिमबारे युरोपेली सुरक्षा निकायहरूले निरन्तर चासो व्यक्त गर्दै आएका बेला इटालीको माफियासम्बन्धी पछिल्लो विवरण सार्वजनिक भएको हो।





