एचआईभीको नयाँ महामारी फैलिन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
एचआईभीविरुद्धका कार्यक्रमका लागि उपलब्ध गराइँदै आएको आर्थिक सहयोग कटौती हुँदा विश्वमा नयाँ महामारी उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।
तासका अनुसार संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनमा एचआईभी रोकथाम, परीक्षण तथा उपचारसम्बन्धी कार्यक्रमको बजेट घट्दा संक्रमण नियन्त्रणमा हासिल उपलब्धि जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ।
प्रतिवेदन तयार गर्ने विज्ञहरूले २१ देशमा एचआईभी संक्रमणका नयाँ घटना अझै बढिरहेको बताएका छन्। सन २०१० देखि २०२५ सम्म पूर्वी युरोप र मध्य एसिया, ल्याटिन अमेरिका तथा मध्यपूर्व र उत्तर अफ्रिकामा नयाँ संक्रमण बढेको प्रतिवेदनमा उल्लेख छ।
संयुक्त राष्ट्रसंघले संक्रमण रोकथाम तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक वित्तीय सहयोग सुनिश्चित नगरे एचआईभी नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुन सक्ने चेतावनी दिएको छ।





