१९ भाद्र २०८३, शुक्रबार

गोपालमान श्रेष्ठको श्रद्धाञ्जलीमा सानेपा पुगेनन् कांग्रेसका केही शीर्ष नेता

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका शीर्ष नेता बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगे पनि कांग्रेसका केही शीर्ष नेता भने त्यहाँ उपस्थित भएनन्।

कांग्रेस नेता शेखर कोइराला, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलालगायत सानेपामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा देखिएनन्। उनीहरूमध्ये केही श्रेष्ठको अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुगेका थिए भने कतिपयले बुधबार बिहानै उनको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

कांग्रेसको संस्थापन इतर समूहका दोस्रो तहका केही नेता तथा कार्यकर्ता भने सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए।

८३ वर्षीय श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको पार्थिव शरीर बुधबार बिहान सानेपास्थित निवासमा लगिएको थियो। त्यसपछि बिहान ९ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत विभिन्न दलका नेताहरू श्रेष्ठलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए।

कांग्रेसका नेता तथा कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पार्टी सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रेष्ठको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कांग्रेसले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button