नेदरल्यान्ड्सविरुद्ध नेपालका दुई परिवर्तन, पहिलो बलमै करणको सफलता

ड्रागन मिडिया समाचार कक्ष
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले टोलीमा दुई परिवर्तन गरेको छ।
नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले खेलको पहिलो बलमै सफलता हात पारेको छ। करण केसीको बलमा नेदरल्यान्ड्सका ओपनर सेड्रिक डे लाङ्गे विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए। क्रिकनेपालको प्रत्यक्ष स्कोरकार्डअनुसार करणले पहिलो बलमै नेपाललाई विकेट दिलाएका हुन्।
नेपालले यस खेलमा तीव्र गतिका बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछानेलाई प्लेइङ–११ बाहिर राखेको छ। उनीहरूको स्थानमा हेमन्त धामी र बायाँहाते स्पिनर ललित राजवंशीलाई टोलीमा समावेश गरिएको छ।
हेमन्त प्रारम्भिक १५ सदस्यीय टोलीमा समावेश नभए पनि रिजर्भ खेलाडीका रूपमा नेदरल्यान्ड्स पुगेका थिए। नन्दन यादव चोटका कारण शृङ्खलाबाट बाहिरिएपछि हेमन्तलाई उनको स्थानमा मुख्य टोलीमा ल्याइएको हो।
सन्दीपले जारी शृङ्खलाका यसअघिका तीन खेलमा विकेट लिन सकेका थिएनन्। सोमपालले तीन खेलमा दुई विकेट लिएका थिए। लगातार तीन खेलमा पराजित भएपछि नेपालले शृङ्खलाको अन्तिम खेलमा बलिङ संयोजन परिवर्तन गरेको हो।
नेपाल यसअघि नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका तीनवटै खेलमा पराजित भएको थियो। लगातारको हारले लिग–२ को शीर्ष चारमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्ने नेपालको अभियान कठिन बनेको छ। आईसीसीको व्यवस्थाअनुसार लिग–२ का शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
यो खेलअघि नेपाल ३१ खेलबाट २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स ३० खेलबाट ३६ अङ्कसहित तेस्रो र नामिबिया ३१ खेलबाट २६ अङ्कसहित नेपालभन्दा माथि रहेको छ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, इशान पाण्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, हेमन्त धामी र ललित राजवंशी छन्।





