सेती नदीको बाढीले नेपाली सेनाको निर्माणाधीन ब्यारेकमा क्षति

ड्रागन मिडिया समाचार कक्ष
सुपर सेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको निर्माणाधीन ब्यारेकमा सेती नदीको बाढीले क्षति पुर्याएको छ।
केही दिनअघि परेको वर्षापछि नदीमा आएको बाढीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा रहेको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो।
सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङका अनुसार प्रिफ्याब र जस्तापाता प्रयोग गरी निर्माण गरिएको ब्यारेकमा बाढी पसेको थियो। बाढीले सेनाका हातहतियारमा भने क्षति नपुर्याएको बताइएको छ।
बाढीले ब्यारेकमा रहेका लत्ताकपडा तथा अन्य सामग्री बगाएको छ। क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रहरीको टोली मंगलबार घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेको थियो। घटनास्थल भौगोलिक रूपमा टाढा र विकट भएकाले घटनाबारे ढिलो गरी जानकारी प्राप्त भएको वरिष्ठ हवल्दार गुरुङले बताए।





