२५० वर्षे इतिहासमा अफ्रिकामा बोल्शोई थिएटरको पहिलो ठूलो प्रदर्शनी

ड्रागन मिडिया समाचार कक्ष
रुसको प्रसिद्ध बोल्शोई थिएटरले आफ्नो २५० वर्षे इतिहासमा अफ्रिकी महादेशमा पहिलोपटक ठूलो प्रदर्शनी आयोजना गरेको छ।
बोल्शोई थिएटरको आधिकारिक विवरणअनुसार ‘द बोल्शोई थिएटर : थ्रु टाइम’ शीर्षकको प्रदर्शनी जुलाई २८ मा सेसेल्सको राजधानी भिक्टोरियास्थित राष्ट्रिय पुस्तकालयमा उद्घाटन गरिएको हो।

प्रदर्शनीले एकैपटक तीन महत्वपूर्ण अवसरलाई समेटेको छ। यस वर्ष रुसको बोल्शोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सव, सेसेल्स स्वतन्त्र भएको ५०औँ वर्ष र रुस–सेसेल्स कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पूरा भएको छ।
प्रदर्शनीमार्फत सेसेल्सका नागरिक तथा पर्यटकलाई रुसको प्रमुख सांगीतिक थिएटरको इतिहाससँग परिचित गराइएको छ। बोल्शोई थिएटर संग्रहालयले १९औँ शताब्दीको मध्यदेखि हालसम्म थिएटरको विकासका मुख्य चरण झल्काउने दुर्लभ मञ्च पोषाक, अभिलेखीय तस्बिर, लिथोग्राफ तथा मञ्च र पोषाकका डिजाइन प्रदर्शनीमा राखेको छ।


प्रदर्शनीका प्रमुख आकर्षणमा ‘द नटक्र्याकर’, ‘ला बायादेर’, ‘ला सिल्फाइड’, ‘अ लाइफ फर द जार’, ‘द लेजेन्ड अफ द इन्भिजिबल सिटी अफ किटेझ एण्ड द मेडन फेभ्रोनिया’ लगायत बोल्शोई थिएटरका चर्चित प्रस्तुतिमा प्रयोग गरिएका पोषाक रहेका छन्।
प्रदर्शनीमा कोन्स्टान्टिन कोरोभिन, इल्या ग्लाजुनोभ र सिमोन भिर्सालाद्जेलगायत उत्कृष्ट रुसी थिएटर कलाकारका कृतिसमेत समावेश गरिएको छ। उनीहरूको सिर्जनात्मक योगदानले रुसी सांगीतिक थिएटरको दृश्य पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बोल्शोई थिएटरले जनाएको छ।
प्रदर्शनी उद्घाटनकै दिन भिक्टोरियास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुसी ब्याले कलाकारहरूको सहभागितामा विशेष समारोह तथा गाला कन्सर्ट आयोजना गरिएको थियो।
सेसेल्समा पहिलोपटक बोल्शोई र मारिन्स्की थिएटर, दिमित्री खोरोस्तोभ्स्की क्रास्नोयार्स्क ओपेरा तथा ब्याले थिएटर र सेभास्तोपोल राज्य ओपेरा तथा ब्याले थिएटरका प्रमुख एकल कलाकारहरूले संयुक्त रूपमा प्रस्तुति दिएका थिए।
बोल्शोई थिएटरले प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न व्यापक सहयोग गरेकोमा सेसेल्सस्थित रुसी दूतावासप्रति धन्यवाद व्यक्त गरेको छ। यो कार्यक्रमलाई रुस र सेसेल्सबीचको सांस्कृतिक सहकार्य तथा जनस्तरीय सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





