एशियन भिलेज रिसोर्टको कर्जा फाइलमाथि अनुसन्धान, प्रभु बैंककी सीबीओ पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पन्तमाथि कर्जा स्वीकृति तथा प्रवाह प्रक्रियामा भएको सम्भावित अनियमितताबारे अनुसन्धान गरिनेछ।
पक्राउपछि उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
प्रभु बैंकले एशियन भिलेज रिसोर्टलाई ४८ करोड रुपैयाँ कर्जा उपलब्ध गराएको थियो। उक्त कर्जा प्रवाह र त्यससँग सम्बन्धित प्रक्रियामाथि नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले विशेष स्थलगत निरीक्षण गरेको थियो।
२०८३ असारमा तयार गरिएको निरीक्षण प्रतिवेदनबाट सम्भावित अनियमितताका विषय बाहिरिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको श्रोतले जनाएको छ।
सोही प्रकरणमा कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै पक्राउ परिसकेका छन्। उनी पनि अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा छन्।
प्रकरणमा संलग्नता, जिम्मेवारी र कानुनी उत्तरदायित्वबारे सीआईबीको अनुसन्धान जारी रहेकाले अदालतबाट अन्तिम निर्णय नभएसम्म पक्राउ परेका व्यक्तिलाई दोषी ठहर गर्न मिल्दैन।





