सोङत्सेन सांस्कृतिक पर्यटन महोत्सवमा परम्परा, प्रविधि र ग्रामीण उत्पादनको संगम

# पासाङ ल्हामु
चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गत ल्हासा शहरको माईझोकुङ्गार काउन्टीमा दोस्रो ‘सोङत्सेन सांस्कृतिक पर्यटन महोत्सव’ आयोजना गरिएको छ। हजारौँ वर्ष पुरानो सांस्कृतिक विरासत, पठारी क्षेत्रको प्राकृतिक सौन्दर्य, परम्परागत कला, खेलकुद र आधुनिक पर्यटनलाई जोड्दै आयोजित महोत्सवले स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रबाट आएका पर्यटकलाई आकर्षित गरेको छ।
महोत्सवमा विज्ञान तथा प्रविधिमा आधारित प्रस्तुति, अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन, परम्परागत खेलकुद प्रतियोगिता, पठारी क्षेत्रका विशेष परिकार, ग्रामीण सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम समावेश गरिएको थियो।


आयोजकका अनुसार महोत्सवले प्राचीन संस्कृति र आधुनिक जीवनशैलीलाई एउटै मञ्चमा प्रस्तुत गर्दै माईझोकुङ्गारको सांस्कृतिक पहिचान, प्राकृतिक वातावरण र आर्थिक विकासको गतिलाई व्यापक रूपमा चिनाउने प्रयास गरेको छ। यसले स्थानीय पर्यटनको गुणस्तर उकास्नुका साथै ग्रामीण पुनरुत्थान र विशेष उत्पादनको बजार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
माईझोकुङ्गार काउन्टी पार्टी समितिका सचिव शेन फङलीले उद्घाटन समारोहमा सोङत्सेन संस्कृतिलाई महोत्सवको मूल आधार र सुनौलो तोरीको फूललाई प्रमुख आकर्षण बनाइएको बताए। उनले हजार वर्ष पुराना ऐतिहासिक मार्ग, स्थानीय पेय तथा परिकार, परम्परागत नाटक र आधुनिक नृत्यको अनुभव लिन पर्यटकलाई आह्वान गरे।
महोत्सवमा परम्परागत कला र आधुनिक प्रस्तुति जोडेर इतिहास र वर्तमानबीच सांस्कृतिक संवाद सिर्जना गरिएको थियो। नानचिङ शहरको छिनह्वाई जिल्ला सांस्कृतिक केन्द्र र स्याओहोङह्वा कला समूहले सोङत्सेन कला समूहसँग संयुक्त प्रस्तुति दिएका थिए।


विभिन्न मैत्रीपूर्ण जिल्ला र क्षेत्रका सांस्कृतिक टोलीले पनि एउटै मञ्चमा प्रस्तुति दिँदै कला र संस्कृतिमार्फत आपसी सम्बन्धलाई सुदृढ बनाएका थिए। आयोजकले तीन दशकदेखि जारी क्षेत्रीय सहयोग र सांस्कृतिक आदानप्रदानको भावनालाई महोत्सवले थप विस्तार गरेको जनाएको छ।
कार्यक्रमस्थलमा परम्परागत पोषाक, अमूर्त सांस्कृतिक सम्पदा र स्थानीय कृषि उत्पादनका छुट्टाछुट्टै प्रदर्शनी तथा बिक्री कक्ष राखिएका थिए। माईझोकुङ्गारको तोरीको तेल, स्थानीय याकको मासु, परम्परागत धूपलगायत विशेष उत्पादन पर्यटकको प्रमुख आकर्षण बनेका थिए।
सांस्कृतिक गतिविधिसँगै स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीले सांस्कृतिक आकर्षणलाई आर्थिक गतिविधिमा रूपान्तरण गर्न सहयोग गरेको आयोजकको भनाइ छ। यसबाट संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन, स्थानीय उद्योगको विस्तार र ग्रामीण बासिन्दाको आय वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
महोत्सवले संस्कृति, पर्यटन र स्थानीय उद्योगलाई जोड्ने बहुआयामिक मोडल प्रस्तुत गरेको छ। परम्परागत सम्पदा र आधुनिक पर्यटनबीच समन्वय गर्दै स्थानीय पहिचान प्रवर्द्धन गर्ने, नागरिकको जीवनस्तर सुधार्ने र विकासका नयाँ सम्भावना विस्तार गर्ने उद्देश्य राखिएको छ।
आयोजकका अनुसार यस्तो सांस्कृतिक महोत्सवले माईझोकुङ्गारको मात्र नभई ल्हासा शहरको समग्र पर्यटन विकासमा पनि नयाँ ऊर्जा थप्नेछ।





