१९ भाद्र २०८३, शुक्रबार

सामाजिक सद्भाव जोगाउन झापा प्रशासन सक्रिय, सुरक्षा निकाय ‘हाई अलर्ट’मा

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीमा भएको पछिल्लो अप्रिय घटनापछि उत्पन्न परिस्थिति र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सक्रियता बढाएको छ।

जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक सौहार्द बिग्रन नदिन स्थानीय प्रशासनले विभिन्न समुदायका अगुवा, धार्मिक गुरु, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग छलफल र भेटघाटलाई तीव्र बनाएको हो।

स्थानीय सञ्चारकर्मीसँगको भेटमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विशेषगरी कचनकवल र झापा गाउँपालिकाका मुस्लिम समुदायको बसोबास रहेका क्षेत्रमा पुगेर स्थानीय अगुवा तथा धार्मिक गुरुसँग प्रत्यक्ष संवाद र सहजीकरण गरिएको जानकारी दिए।

समुदायको तल्लो तहसम्म आपसी भाइचारा, सहिष्णुता र शान्तिको वातावरण कायम गर्न धार्मिक गुरुहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ गेलालले बताए।

सामाजिक सद्भाव कायम गर्ने प्रयासअन्तर्गत जिल्ला प्रशासन कार्यालयले झापाका १५ वटै स्थानीय तहका प्रमुखसँग छलफल सम्पन्न गरिसकेको छ। स्थानीय तहका वडा र समुदायस्तरसम्म सद्भाव बैठक आयोजना गर्दै आवश्यक सजगता अपनाउन पालिका प्रमुखहरूलाई आग्रह गरिएको छ।

सम्भावित अनपेक्षित घटना र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत जिल्लाका सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको प्रजिअ गेलालले स्पष्ट पारे।

जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमा फैलाइने अपुष्ट, भ्रामक र उत्तेजक सामग्रीको पछि नलाग्न तथा आधिकारिक श्रोतबाट पुष्टि भएका सूचनामा मात्र विश्वास गर्न आमनागरिकलाई अपिल गरेको छ।

प्रजिअ गेलालले समाजमा भ्रम र तनाव फैलाउने गलत सूचना तत्काल खण्डन गर्दै सत्यतथ्य सूचना प्रवाह गर्न झापाका सञ्चारकर्मीलाई विशेष आग्रह गरेका छन्।

प्रशासनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, सङ्घसंस्था, सञ्चारमाध्यम र आमनागरिकलाई अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button