१७ भाद्र २०८३, बुधबार

आज केही स्थानमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया समाचार कक्ष

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस तथा बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ।

बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button