१९ भाद्र २०८३, शुक्रबार

रास्वपाको वरिष्ठ नेतामा बालेन्द्र शाह, भदौदेखि ‘क्यान्डिडेट क्लब’

ड्रागन मिडिया समाचार कक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनीत गरेको हो।

पार्टी विधानको भाग ६, धारा २२ को उपधारा ११ (ञ) बमोजिम शाहलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले विधानको भाग ६, धारा २३ अनुसार ‘पार्टी सचिवालय’ समेत गठन गरेको छ। सचिवालयमा सभापति लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।

बैठकले वडादेखि केन्द्रसम्म सम्पन्न पार्टीको प्रथम महाधिवेशनको समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमी–कमजोरी सच्याएर सङ्गठनलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।

केन्द्रीय सदस्यहरूबाट साउन १८ गते साँझ ५ बजेसम्म प्राप्त हुने संशोधन सुझाव समेट्ने गरी बैठक सञ्चालन, सदस्यता, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभागसम्बन्धी कार्यविधिहरू पारित गरिएको छ।

विभागीय नेतृत्व लिन इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसँग सम्बन्धित विभागको लक्ष्य, रूपरेखा र छमहिने कार्ययोजना माग्ने निर्णयसमेत बैठकले गरेको छ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले योग्य, इमानदार र सक्षम उम्मेदवार पहिचानका लागि भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ को आवेदन खुला गर्ने भएको छ। यसलाई उम्मेदवार छनोट प्रक्रियाको प्रारम्भिक चरणका रूपमा अघि बढाइने पार्टीले जनाएको छ।

सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादन र पार्टीसँगको समन्वय प्रभावकारी बनाउन महिनाको कम्तीमा एक दिन केन्द्रीय समिति सदस्यको उपस्थितिमा प्रत्यक्ष छलफल गर्ने निर्णय पनि गरिएको छ।

नागरिकका गुनासा र समस्या सुन्न केन्द्रीय कार्यालयमा दैनिक दुई केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुई प्रदेश सदस्य र जिल्ला कार्यालयमा एक जिल्ला समिति सदस्यको अनिवार्य उपस्थिति रहने संयन्त्र बनाइने भएको छ।

रास्वपाले ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ मनाउन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ। सामाजिक रूपमा संवेदनशील तथा दुःखद घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा प्रसार नगर्न पनि पार्टीले सदस्यहरूलाई निर्देशन दिएको छ।

बैठकले सुनसरीलगायत जिल्लाका पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button