चीन–रुस संयुक्त सामुन्द्रिक गस्ती सम्पन्न, नौसैनिक टोली भ्लादिभोस्तोक पुग्यो

ड्रागन मिडिया समाचार कक्ष
पश्चिमी प्रशान्त महासागरदेखि ओखोत्स्क र जापान समुन्द्रसम्म संयुक्त गस्ती गरेको चीन–रुस नौसैनिक टोली बुधबार रुसको भ्लादिभोस्तोक पुगेको छ। चीनको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार टोली भ्लादिभोस्तोक पुगेपछि १७ दिन लामो संयुक्त सामुन्द्रिक गस्ती औपचारिक रूपमा सम्पन्न भएको हो।
संयुक्त टोली जुलाई १३ मा चीनको शानतोङ प्रान्तस्थित छिङताओबाट प्रस्थान गरेको थियो। गस्तीका क्रममा टोलीले मियाको जलडमरू, एटोरोफु अर्थात भ्रिज जलडमरू र सोया अर्थात ला पेरुज जलडमरू हुँदै पश्चिमी प्रशान्त महासागर, ओखोत्स्क समुन्द्र तथा जापान समुन्द्रका विभिन्न क्षेत्रमा यात्रा गरेको मन्त्रालयले जनाएको छ।
संयुक्त गस्तीमा चिनियाँ जनमुक्ति सेनाको नौसेनाका निर्देशित क्षेप्यास्त्र विनाशक जहाज ‘खाइफङ’ र ‘आनशान’, व्यापक आपूर्ति जहाज ‘खखसिलिहु’ तथा रुसी नौसेनाको कर्भेट ‘रेज्की’ सहभागी थिए।
गस्तीका क्रममा दुवै देशका नौसेनाले जहाजमा आधारित हेलिकप्टरलाई एकअर्काको डेकमा अवतरण गराउने अभ्यास, संयुक्त प्रतिआतङ्कवाद कारवाही, मानवीय उद्धार, सामुन्द्रिक निरीक्षण तथा जहाजमा चढेर जाँच गर्ने अभ्यास गरेका थिए।

चिनियाँ जहाजहरूले सामुन्द्रिक तथा हवाई परिस्थितिमा आधारित विभिन्न परिदृश्य तयार गरी वास्तविक युद्धमुखी अभ्याससमेत सञ्चालन गरेको चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गस्ती चीन र रुसका सेनाबीचको वार्षिक सहयोग योजनाअन्तर्गत आयोजना गरिएको हो। यसको उद्देश्य संयुक्त सञ्चालन क्षमता अभिवृद्धि गर्नु र सामुन्द्रिक सुरक्षा चुनौतीको सामना गर्ने क्षमता बलियो बनाउनु रहेको मन्त्रालयले स्पष्ट गरेको छ। यसलाई वर्तमान अन्तर्राष्ट्रिय वा क्षेत्रीय परिस्थितिसँग नजोड्नसमेत आग्रह गरिएको छ।
ग्लोबल टाइम्ससँग कुरा गर्दै चिनियाँ सैन्य मामिला विज्ञहरूले चीन–रुस संयुक्त गस्तीको मार्ग भ्रिज जलडमरू हुँदै गएको विवरण पहिलोपटक सार्वजनिक गरिएको बताएका छन्।
सैन्य मामिला विज्ञ चाङ चुनशले यसपटकको गस्ती मार्ग अघिल्ला संयुक्त अभियानको तुलनामा उल्लेखनीय रूपमा विस्तारित रहेको बताए। उनका अनुसार चिनियाँ नौसैनिक टोली सुशिमा जलडमरू हुँदै फर्किएमा जापानी द्वीपसमूहको पूर्वी, उत्तरी र पश्चिमी दिशाबाट पूर्ण परिक्रमा गरेको अवस्था बन्नेछ।
अर्का सैन्य विज्ञ सोङ चोङपिङले चीन र रुसलाई प्रमुख सामुन्द्रिक जलमार्ग नियन्त्रण गरेर नजिकका समुन्द्रमा सीमित गर्न सकिन्छ भन्ने धारणा व्यावहारिक नभएको बताए। रणनीतिक जलडमरू पार गर्ने र महत्वपूर्ण सामुन्द्रिक मार्गमा पहुँच कायम गर्ने क्षमता कुनै पनि देशको सामुन्द्रिक शक्तिको महत्वपूर्ण सूचक भएको उनको भनाइ छ।
मियाको, सोया र सुशिमा जलडमरू अन्तर्राष्ट्रिय नौपरिवहनमा प्रयोग हुने मार्ग भएकाले चिनियाँ तथा रुसी जहाजहरूको आवागमन संयुक्त राष्ट्रसङ्घीय समुन्द्रसम्बन्धी कानुन महासन्धि र स्थापित अन्तर्राष्ट्रिय अभ्यासअनुकूल रहेको चाङले बताए।
जापानले संयुक्त गस्तीका क्रममा चिनियाँ युद्धपोतले आफ्नो दाबी गरिएको विशेष आर्थिक क्षेत्रमा वास्तविक गोली प्रहार अभ्यास गरेको आरोप लगाउँदै विरोध जनाएको थियो।
यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन च्यानले जुलाई २१ को नियमित पत्रकार सम्मेलनमा जापानको विरोधलाई आधारहीन भन्दै अस्वीकार गरेका थिए। उनले ओकिनोटोरीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार टापु नभई चट्टानका रूपमा परिभाषित गर्नुपर्ने र त्यसका आधारमा विशेष आर्थिक क्षेत्र वा महाद्वीपीय शेल्फ दाबी गर्न नमिल्ने चीनको धारणा दोहोर्याएका थिए।
चिनियाँ पक्षले खुला समुन्द्रमा गरिएका आफ्ना गतिविधि अन्तर्राष्ट्रिय कानुन तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासअनुकूल रहेको बताएको छ।
सैन्य विज्ञहरूका अनुसार चीन–रुस संयुक्त रणनीतिक गस्ती अब पृथक गतिविधि नभई नियमित वार्षिक सहकार्यका रूपमा विकसित भएको छ। भविष्यमा सामुन्द्रिक, हवाई तथा संयुक्त समुन्द्र–हवाई अभ्यासको आवृत्ति र दायरा अझ बढ्न सक्ने उनीहरूको आकलन छ।





