राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समसामयिक राजनीति र संसदबारे छलफल

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बिहीबार शिष्टाचार भेट गरेका छन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध पक्षबारे विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ।
सभामुख अर्यालले संसद सञ्चालन, राजनीतिक दलहरूबीचको संवाद तथा पछिल्ला राष्ट्रिय घटनाक्रमका विषयमा राष्ट्रपतिसँग छलफल गरेको जनाइएको छ। भेटमा संसदलाई प्रभावकारी, मर्यादित र संवादमुखी बनाउने विषयले समेत स्थान पाएको बताइएको छ।
यसअघि बुधबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए। लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटना तथा त्यस विषयमा आयोजित सर्वदलीय बैठकका निष्कर्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि साझा धारणा निर्माण गर्ने उद्देश्यले आयोजित सर्वदलीय बैठकले सातबुँदे संयुक्त अपिल जारी गरेको थियो।





