सुनसरी घटनासहित समग्र सुरक्षा अवस्था समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

ड्रागन मिडिया समाचार कक्ष
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे बैठक बोलाइएको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार बैठकमा सुनसरीको पछिल्लो घटनासहित देशको समग्र सुरक्षा अवस्थाबारे छलफल हुनेछ।
बैठकमा विशेषगरी सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा चुनौती, स्थानीय अवस्था नियन्त्रण, नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने उपायबारे समीक्षा हुने बताइएको छ।
घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायबाट अपनाइएका कदम, सुरक्षा निकायबीचको समन्वय तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीका विषय पनि बैठकमा उठ्ने अपेक्षा गरिएको छ।
नेपालको संविधानको धारा २६६ अनुसार प्रधानमन्त्री राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष रहने व्यवस्था छ। परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति सदस्य रहन्छन् भने रक्षासचिवले सदस्यसचिवका रूपमा काम गर्छन्।
परिषदले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा तथा नेपाली सेनाको परिचालन वा नियन्त्रणका विषयमा नेपाल सरकार, मन्त्रीपरिषदलाई सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको छ।
बैठक सम्पन्न भएपछि भएका निर्णय र सुरक्षा निकायलाई दिइएका निर्देशनबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।





