१९ भाद्र २०८३, शुक्रबार

शान्ति–सुरक्षा र सद्भाव कायम गर्न राज्य असफल : पद्मा अर्याल

ड्रागन मिडिया समाचार कक्ष

नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुनसरी घटनापछि उत्पन्न परिस्थिति नियन्त्रण गर्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरी घटनाबारे धारणा राख्दै अर्यालले तनाव व्यवस्थापनका लागि आवश्यक सम्वाद, योजना र जनविश्वास निर्माण गर्नुको सट्टा राज्यकै गतिविधिले नागरिकमा त्रास बढाएको दाबी गरिन्।

“शान्ति–सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्णतया असफल भएको छ। दङ्गालाई नियन्त्रण गर्न सम्वाद, योजना र विश्वास सिर्जना गराउनुको सट्टा राज्य आफैँले त्रास सिर्जना गर्ने काम गरेको छ,” उनले भनिन्।

राज्यको व्यवहारले घटनालाई थप उत्तेजित बनाउने र सुनसरी आसपासका क्षेत्रमा समेत त्यस्तै परिस्थिति उत्पन्न हुन सक्ने जोखिम बढाएको उनको भनाइ थियो।

अर्यालले संवेदनशील अवस्थामा उत्तेजना र आवेगमा नआई धैर्य तथा संयम अपनाउन सबै पक्षलाई अपिल गरिन्। उनले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार, राजनीतिक दल, स्थानीय समुदाय तथा सम्बन्धित निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

सुनसरी घटनापछि बुधबार बसेको सर्वदलीय बैठकले पनि घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारवाही, पीडितलाई राहत तथा क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्न सातबुँदे संयुक्त अपिल जारी गरेको थियो। बैठकले उत्तेजना र टकरावले समस्या थप जटिल बनाउने भन्दै शान्तिपूर्ण सम्वाद र सहमतिमार्फत समाधान खोज्न आग्रह गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button