१९ भाद्र २०८३, शुक्रबार

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस प्रमुख सचेतक थापा

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसले कुनै पनि बहानामा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास नेपालको संविधानको भावना, लोकतान्त्रिक मूल्य र नेपाली समाजको मूल चरित्रमाथिको आक्रमण भएको जनाएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरी घटनाबारे बोल्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले घटनालाई सामान्य रूपमा लिन नसकिने बताइन्। उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने विषयमा सरकारले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

“यसको जवाफ सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,” उनले भनिन्, “घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।”

थापाले सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने घटनामा सरकार संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने बताइन्। घटनाको वास्तविक कारण, सुरक्षा निकायको भूमिका र गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनुका कारणबारे स्वतन्त्र छानबिन आवश्यक रहेको उनको भनाइ थियो।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा नागरिकको मृत्यु र राज्यको बल प्रयोगसम्बन्धी घटनामा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको आक्रोश स्मरण गराउँदै प्रधानमन्त्री बनेपछि उनको संवेदनशीलता परिवर्तन भएको हो कि भनेर प्रश्न गरिन्।

“हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ। हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ,” थापाले भनिन्, “एउटा नेपाली युवाको मृत्यु हुँदा त्यो संवेदनशीलता कहाँ हरायो र त्यो आवाज आज किन सुनिँदैन?”

उनले सरकारलाई नागरिकको जीवन, पीडा र सुरक्षालाई राजनीतिक दृष्टिकोण वा पक्षधरता अनुसार फरक व्यवहार नगर्न आग्रह गरिन्। सुनसरी घटनामा राज्यको भूमिकाबारे संसदलाई जानकारी गराउनुका साथै पीडित परिवारलाई न्याय र घाइतेलाई उपचार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन्।

थापाले साम्प्रदायिक उत्तेजना फैलाउने अभिव्यक्ति र गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्ने बताउँदै राजनीतिक दल, सरकार, सुरक्षा निकाय र नागरिक समाजलाई सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button