१९ भाद्र २०८३, शुक्रबार

आजदेखि वैदेशिक रोजगारीमा विस्तृत कार्य विवरण अनिवार्य

ड्रागन मिडिया समाचार कक्ष

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि रोजगारसम्बन्धी विस्तृत कार्य विवरण अर्थात ‘जव डिस्क्रिप्सन’ उल्लेख गर्नुपर्ने व्यवस्था आजदेखि अनिवार्य रूपमा लागू भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले साउन १३ गते गरेको मन्त्रिस्तरीय निर्णयअनुसार श्रम स्वीकृतिसम्बन्धी प्रक्रियामा कामदारले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा खुलाउनुपर्ने भएको हो।

नयाँ व्यवस्थाअन्तर्गत कामदार जाने गन्तव्य मुलुक, रोजगारदाता संस्था, पद, कामको प्रकृति, सेवा–शर्त, पारिश्रमिक, काम गर्ने अवधि तथा अन्य सुविधासम्बन्धी विवरण विस्तृत रूपमा पेश गर्नुपर्नेछ।

कामदार र रोजगारदाताबीच भएको सम्झौताको प्रमाणीकरणलाई थप प्रभावकारी बनाउने तथा सम्झौतामा उल्लेख गरिएको पद र विदेश पुगेपछि गर्नुपर्ने वास्तविक कामबीच फरक पर्न नदिने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार विभागले पनि विदेश जानुअघि कामदारले आफूले गर्ने काम, पद, पारिश्रमिक, खाना तथा बसोबासको व्यवस्था, कार्यघण्टा, अतिरिक्त कामको भत्ता, करार अवधि र अन्य सेवा–सुविधाबारे स्पष्ट जानकारी लिनुपर्ने बताउँदै आएको छ। सही विवरण र प्रमाणमा आधारित कागजात नभए कामदारले सम्झौताअनुसार काम तथा सुविधा नपाउने र विदेशमा समस्यामा पर्ने जोखिम हुने विभागको भनाइ छ।

विस्तृत कार्य विवरण अनिवार्य भएपछि श्रम स्वीकृतिका क्रममा रोजगार सम्झौताको वास्तविकता जाँच्न, कामदारलाई आफ्नो जिम्मेवारीबारे पूर्वजानकारी दिन र गन्तव्य मुलुकमा फरक काम लगाइने जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button