देश चलाउन नसके बाटो खाली गर्नुस् : सांसद आरेन राई
ड्रागन मिडिया समाचार कक्ष
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकारले देश सञ्चालन गर्न नसक्ने भए असफलता स्वीकार गर्दै बाटो खाली गर्नुपर्ने बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरी घटनासहित देशका समसामयिक विषयमा बोल्दै राईले सभामुखमार्फत प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराए।
सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको आरोप थियो। काम बिगारिरहनुभन्दा आफ्नो असक्षमता स्वीकार गर्नु इमानदार विकल्प हुने उनले बताए।
“मैले सकिनँ भन्न पाइन्छ। यो दुनियाँमा काम बिगार्नुको सट्टा ‘म सकिनँ’ भन्न पाइन्छ,” राईले भने, “अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात उठाए हुन्छ। त्यो पाइन्छ, तर यो ढङ्गले देश चलाउन पाइँदैन।”
उनले सरकारको कमजोरीका कारण देश र नागरिकलाई अभिभावकविहीन अवस्थामा पुर्याउन नपाइने बताए।
“देश र जनतालाई टुहुरो बनाउन पाइँदैन। सरकार कि त निस्किनुपर्यो, कि ‘सकिनँ’ भनेर हात उठाउनुपर्यो,” उनले भने।
राईले सुनसरी घटनासहित पछिल्ला घटनाक्रममा सरकारले प्रभावकारी नेतृत्व, सुरक्षा व्यवस्थापन र नागरिकप्रतिको उत्तरदायित्व प्रदर्शन गर्न नसकेको आरोप लगाए। उनले सरकारलाई संवेदनशील घटनामा मौन नबस्न तथा नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न ठोस कदम चाल्न आग्रह गरे।





