राङथाङमा सरल प्रविधिबाट उच्च भूभागको च्याउखेती विस्तार

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचुवान प्रान्तस्थित राङथाङ काउन्टीले उच्च भूभागमा खाद्य च्याउ उत्पादन गर्दा देखिने तापक्रमसम्बन्धी समस्या समाधान गर्न कम लागतको नयाँ प्रविधि प्रयोगमा ल्याएको छ।
राङथाङ काउन्टी सरकारका अनुसार चोङ्खे टाउनशिपका किसानले हरितगृहको छतमा राखिएको छायाजालीलाई पानीले भिजाएर तापक्रम घटाउने विधि विकास गरेका हुन्। स्थानीय भूगोल र जलवायुअनुकूल यो प्रविधिले च्याउ उत्पादनको लागत घटाउनुका साथै पानीको खपत कम गर्न र उत्पादन वातावरण स्थिर बनाउन सहयोग गरेको छ।

उच्च भूभागको विशेष जलवायुका कारण गर्मी मौसममा हरितगृहभित्र तापक्रम अत्यधिक बढ्ने र त्यसले च्याउको वृद्धि तथा उत्पादनमा असर पार्ने गरेको थियो। यसअघि प्रयोग गरिने पानी छर्केर तापक्रम घटाउने परम्परागत विधिमा उपकरणको लागत र पानीको खपत बढी हुने तथा हरितगृहको तापक्रम समान रूपमा नियन्त्रण गर्न कठिन हुने समस्या थियो।
यसको विकल्पमा किसानले पानी सञ्चय गर्ने पोखरी निर्माण गरी पाइपमार्फत हरितगृहको छायाजालीलाई भिजाउने व्यवस्था गरेका छन्। जालीमा रहेको पानी प्राकृतिक रूपमा वाष्पीकरण हुँदा हरितगृहभित्रको तापक्रम क्रमशः र समान रूपमा घट्ने गरेको छ।


यो विधिका लागि थप यान्त्रिक उपकरण आवश्यक नपर्ने भएकाले उत्पादन लागत कम भएको छ। पानीको प्रभावकारी उपयोगसँगै गर्मीबाट च्याउमा पर्ने प्रतिकूल प्रभाव घटेको र उत्पादनका लागि अनुकूल आर्द्रता तथा तापक्रम कायम गर्न सहज भएको स्थानीय प्रशासनले जनाएको छ।
चोङ्खे टाउनशिपको यितोङ गाउँका किसान तथा गाउँ पार्टी शाखाका उपसचिव पेङछोले तीन वर्षदेखि च्याउखेती गर्दै आएका छन्। स्थानीय सरकारी विवरणअनुसार पहिलो वर्ष उनको आम्दानी करिब ५० हजार युआन पुगेको थियो। दोस्रो वर्ष लगाइएका तीन हजार च्याउका प्याकेटबाट दुई हजार किलोग्रामभन्दा बढी उत्पादन भएको थियो।
यस वर्ष स्थानीय सरकारले निःशुल्क उपलब्ध गराएका १३ हजार ६ सय च्याउका प्याकेट उनले हरितगृहमा राखेका छन्। पानी सञ्चय पोखरी र पाइप प्रणाली विस्तार गरेपछि तापक्रम नियन्त्रण प्रभावकारी बनेको र च्याउको वृद्धि राम्रो देखिएको उनले बताएका छन्।
राङथाङ काउन्टीले पछिल्ला वर्षमा उच्च भूभागको विशेष कृषि तथा पशुपालन उद्योगलाई सहयोग गर्दै आएको छ। किसानलाई निःशुल्क च्याउका प्याकेट वितरण, आवश्यक पूर्वाधार विस्तार, प्राविधिक तालिम र स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ।
काउन्टीभर सन् २०२६ मा ४० लाख च्याउका प्याकेट उत्पादन गरिएको छ, जुन अघिल्लो वर्षभन्दा १६ लाख बढी हो। आयोजना पूर्ण क्षमतामा सञ्चालन भएपछि वार्षिक दुई हजार पाँच सय टनभन्दा बढी ताजा च्याउ उत्पादन र सात करोड युआन बराबरको कारोबार हुने अनुमान गरिएको छ। यसबाट स्थानीय किसान तथा पशुपालकका लागि रोजगारी र नियमित आम्दानीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
राङथाङ प्रशासनले आगामी चरणमा कम लागत, सहज सञ्चालन र अन्य क्षेत्रमा पनि प्रयोग गर्न सकिने स्थानीय कृषि प्रविधिको अध्ययन तथा विस्तारलाई निरन्तरता दिने जनाएको छ। उच्च भूभागको च्याउ उद्योगलाई व्यवस्थित र व्यावसायिक बनाउँदै ग्रामीण पुनरुत्थान तथा नागरिकको स्थिर आयवृद्धिमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।





