सोङपानमा प्रकृति र संस्कृतिको जीवन्त संरक्षण अवलोकन गर्दै अन्तर्राष्ट्रिय सञ्चार टोली

ड्रागन मिडिया समाचार कक्ष
रुस, कजाखस्तान, अजरबैजान र किर्गिस्तानसहित १० भन्दा बढी देशका सञ्चारकर्मीले चीनको सिचुवान प्रान्तस्थित सोङपान काउन्टीमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणको जीवन्त अभ्यास अवलोकन गरेका छन्।
‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आबा भ्रमण’ अन्तर्गत सञ्चारकर्मीको टोलीले जुलाई २५ र २६ मा सोङचौ प्राचीन शहर, विश्व प्राकृतिक सम्पदा ह्वाङलोङ क्षेत्र तथा स्थानीय अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी केन्द्रहरूको स्थलगत भ्रमण गरेको सोङपान काउन्टी सरकारले जनाएको छ।


टोलीले प्राचीन शहरको संरक्षण, परम्परागत संस्कृतिको पुस्तान्तरण र पर्यटन विकासबीच सन्तुलन कायम गर्न अपनाइएका उपायबारे स्थानीय अधिकारी, इतिहास तथा संस्कृतिविद् र हस्तकला व्यवसायीसँग जानकारी लिएको थियो।
सोङचौ प्राचीन शहरको पर्खाल अवलोकनका क्रममा सञ्चारकर्मीलाई ऐतिहासिक संरचनाको स्वरूप र मौलिक वास्तुकला सुरक्षित राख्दै स्थानीय बासिन्दाको दैनिक जीवनलाई निरन्तरता दिइएको जानकारी गराइएको थियो। प्राचीन शहरलाई मानिसविहीन सङ्ग्रहालयमा रूपान्तरण नगरी सम्पदा संरक्षण र नागरिक जीवनलाई सँगसँगै अघि बढाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।



साँझ प्राचीन शहरको उत्तरी द्वारस्थित खुला क्षेत्रमा विभिन्न समुदायका स्थानीय नागरिक र पर्यटकले सामूहिक गोज्वाङ नृत्य प्रस्तुत गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारकर्मीसमेत नृत्यमा सहभागी हुँदै स्थानीय संस्कृतिको अनुभव र छायाङ्कनमा संलग्न भएका थिए।
टोलीले एक शताब्दीभन्दा पुरानो ‘वाङ छाला हस्तकला कार्यशाला’ पनि अवलोकन गरेको थियो। प्रान्तीयस्तरको अमूर्त सांस्कृतिक सम्पदाका पाँचौँ पुस्ताका उत्तराधिकारीले परम्परागत छालाका सामान निर्माणका ६० भन्दा बढी चरण पूर्ण रूपमा हातैले सम्पन्न गरिने जानकारी दिएका थिए।
छाला छनोट, धुवाँबाट प्रशोधन, बुट्टा कुँद्ने र सिलाइ गर्ने प्रक्रियासम्म परम्परागत सीप प्रयोग गरिन्छ। यसबाट तिब्बती शैलीका घोडाका उपकरण, जुत्ता तथा स्थानीय सांस्कृतिक विशेषता समेटिएका आधुनिक सिर्जनात्मक उत्पादन बनाइने गरिएको छ।
कुनै समय लोप हुने जोखिममा पुगेको यो सीप अमूर्त सांस्कृतिक सम्पदा संरक्षण नीति र संस्कृति–पर्यटनको एकीकृत विकासमार्फत पुनः सक्रिय बनेको स्थानीय प्रशासनले जनाएको छ। विदेशी पत्रकारहरूले स्थानीय हस्तकलाकारको निर्देशनमा छालामा बुट्टा कुँद्ने अभ्याससमेत गरेका थिए।
सञ्चार टोली जुलाई २६ मा विश्व प्राकृतिक सम्पदा ह्वाङलोङ क्षेत्र पुगेको थियो। रंगीन पोखरी तथा दुर्लभ क्याल्सियमयुक्त भू–आकृतिका लागि परिचित उक्त क्षेत्रले जलवायु परिवर्तन र प्राकृतिक क्षयीकरणका चुनौती सामना गरिरहेको छ।
स्थानीय प्रशासनले भू–आकृति संरक्षण, जलश्रोत व्यवस्थापन, जैविक विविधता अनुगमन र वैज्ञानिक अनुसन्धानमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। पर्यटकको वहन क्षमता वैज्ञानिक रूपमा नियन्त्रण गर्दै ‘संरक्षणलाई पहिलो प्राथमिकता’ दिने नीति अवलम्बन गरिएको छ। ह्वाङलोङ क्षेत्रमा हालसम्म हजारौँ वनस्पति तथा जीव प्रजाति अभिलेख गरिनुले यसको जैविक विविधताको महत्वसमेत देखाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूले सोङपानको अभ्यासले संरक्षण भनेको सम्पदालाई बन्द गरेर राख्नु नभई स्थानीय जीवन, संस्कृति र अर्थतन्त्रसँग जोडेर निरन्तरता दिनु भएको बताएका छन्। उनीहरूका अनुसार यो अभ्यास उच्च भूभागका बहुजातीय क्षेत्रमा सम्पदा संरक्षण र दिगो पर्यटनबीच सन्तुलन कायम गर्ने उपयोगी नमुना बन्न सक्छ।
छदिने ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आबा भ्रमण’ टोलीले होङयुआन, रोउरगाइ, सोङपान र माओसियान काउन्टी भ्रमण गरी आबा तिब्बती तथा छ्याङ स्वायत्त प्रिफेक्चरको पर्यावरण संरक्षण, सांस्कृतिक निरन्तरता, ग्रामीण पुनरुत्थान र स्थानीय विकासका उपलब्धिबारे स्थलगत अध्ययन गरेको छ।





