१९ भाद्र २०८३, शुक्रबार

जापानको शक्तिशाली भूकम्पमा मृतक सङ्ख्या ३० पुगेको प्रधानमन्त्री ताकाइचीको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

जापानको दक्षिणपश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु भएका तथा भूकम्पसँग सम्बन्धित हुन सक्ने घटनामा ज्यान गुमाएका व्यक्तिको सङ्ख्या ३० पुगेको प्रधानमन्त्री सानाए ताकाइचीले बताएकी छन्।

विपदपछिको उद्धार तथा राहतसम्बन्धी सरकारी मुख्यालयको बैठकमा बोल्दै प्रधानमन्त्री ताकाइचीले पछिल्लो मानवीय क्षतिबारे जानकारी गराएकी हुन्। स्थानीय तहबाट औपचारिक रूपमा पुष्टि भएका मृत्यु र भूकम्पसँगको सम्बन्धबारे अनुसन्धान भइरहेका घटनासमेत समेटेर केन्द्र सरकारले उक्त सङ्ख्या सार्वजनिक गरेको हो।

कुमामोतो प्रान्तीय सरकारको जुलाई ३० बिहान ७:३० बजेसम्मको विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो। अन्य केही मृत्युको भूकम्पसँग प्रत्यक्ष सम्बन्ध रहे–नरहेको विषयमा अनुसन्धान जारी रहेकाले विभिन्न निकायले सार्वजनिक गरेका सङ्ख्यामा फरक देखिएको छ।

जापानको मौसम विज्ञान निकायका अनुसार जुलाई २८ अपराह्न ४:२७ बजे कुमामोतो प्रान्तको कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको केन्द्र करिब १० किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पका कारण घर तथा अन्य संरचना भत्किएका छन् भने सडक, विद्युत र खानेपानी पूर्वाधारमा व्यापक क्षति पुगेको छ। हजारौँ नागरिक अस्थायी आश्रयस्थलमा बसिरहेका छन् र ठूलो सङ्ख्यामा घरमा विद्युत तथा पानी आपूर्ति अवरुद्ध भएको छ।

कुमामोतोस्थित एक कागज उद्योगको संरचना भत्किँदा र एक व्यापारिक केन्द्रमा भूकम्पपछि विस्फोट हुँदा धेरै मानवीय क्षति भएको जनाइएको छ। उद्धार टोलीले भग्नावशेषमा फसेका व्यक्तिको खोजी जारी राखेको छ।

जापान सरकारले खोज तथा उद्धार, खानेपानी वितरण, विद्युत पुनःस्थापना र आश्रयस्थल व्यवस्थापनलाई प्राथमिकता दिएको छ। गर्मीका कारण विस्थापित नागरिकमा तापघातको जोखिम बढेपछि आश्रयस्थलमा वातानुकूलन उपकरण जडान गर्ने तथा स्वास्थ्य सतर्कता बढाउने काम पनि भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button