१९ भाद्र २०८३, शुक्रबार

चीनमा निर्मित सामान उपलब्ध गराउने ‘चाइनाबजार डट कम’ नेपालमा शुरु

ड्रागन मिडिया समाचार कक्ष

चीनमा निर्मित विभिन्न सामग्री नेपाली उपभोक्तासम्म पुर्‍याउने उद्देश्यसहित नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार डट कम’ नेपालमा औपचारिक रूपमा शुरु भएको छ।

बुधबार आयोजित शुभारम्भ कार्यक्रममा कम्पनीले चीनका उत्पादकबाट सामग्री छनोट तथा खरिद गर्नेदेखि नेपाल भित्र्याउने, भण्डारण गर्ने र ग्राहकसम्म पुर्‍याउने सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन प्रणालीअन्तर्गत सञ्चालन गर्ने जनाएको छ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुति श्रेष्ठले नेपालमा आयातित सामान उपभोक्तासम्म पुग्नुअघि आयातकर्ता, थोक बिक्रेता र वितरकसहित आपूर्ति श्रृंखलाका विभिन्न तह पार गर्नुपर्ने बताइन्। यसले वस्तुको मूल्य बढाउनुका साथै बजारमा उपलब्धताको अनिश्चितता सिर्जना गर्ने उनको भनाइ छ।

“सामग्रीको श्रोत पहिचान र खरिददेखि आयात, भण्डारण तथा वितरणसम्म आपूर्ति श्रृंखलाका प्रत्येक चरण एउटै व्यवस्थापनअन्तर्गत रहनेछन्,” श्रेष्ठले भनिन्। एकीकृत प्रणालीले वितरण अवधि छोट्याउन, लागत नियन्त्रण गर्न र मूल्यलाई पारदर्शी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

प्लेटफर्मले प्रारम्भिक चरणमा विद्युतीय उपकरण, पोषाक, जीवनशैलीसम्बन्धी सामग्री तथा स्वास्थ्य र सौन्दर्य सामग्री उपलब्ध गराउनेछ। आगामी महिनामा उपभोक्ताको मागअनुसार वस्तुको दायरा क्रमशः विस्तार गरिने श्रेष्ठले जानकारी दिइन्।

कम्पनीले आगामी वर्षहरूमा अनलाइन सेवासँगै देशव्यापी रूपमा प्रत्यक्ष अनुभव केन्द्र अर्थात ‘अफलाइन एक्सपेरियन्स स्टोर’ सञ्चालन गर्ने योजना बनाएको छ। ती केन्द्रबाट ग्राहकले सामान खरिद गर्नुअघि प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।

चाइनाबजारले चीनका उत्पादक र नेपाली उपभोक्ताबीचको आपूर्ति श्रृंखला छोट्याउँदै सामानको नियमित उपलब्धता, भरपर्दो वितरण र प्रतिस्पर्धात्मक मूल्य सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button