लुम्बिनीमा आचार्यकै नेतृत्व कायम, एमाले–नेकपा सरकार पुनर्गठनको तयारी

ड्रागन मिडिया समाचार कक्ष
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्य शुरु भएपछि मुख्यमन्त्री परिवर्तन हुन सक्ने चर्चा चले पनि एमाले नेतृत्वले आचार्यकै नेतृत्व कायम राख्ने सहमति गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलमा आचार्यलाई निरन्तरता दिने समझदारी भएको स्रोतले जनाएको छ।
नेतृत्वको विषय टुङ्गिएसँगै एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी र प्रदेश सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ।
लुम्बिनी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गरिएकाले उपलब्ध मन्त्रालयमध्ये कुन दलले कुन जिम्मेवारी लिने भन्ने विषयमा दुवै पक्षले गृहकार्य शुरु गर्नेछन्।
हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन्। एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाइसकेका छन्।
सहमतिअनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र जिम्मेवारी टुङ्गो लगाइनेछ। मन्त्रालय बाँडफाँटमा सहमति भएपछि केही दिनभित्रै मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी गरिएको छ।





