सुनसरी घटनाप्रति राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त, सद्भाव र एकता कायम राख्न आग्रह

ड्रागन मिडिया समाचार कक्ष
राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरीका विभिन्न गाउँबस्तीमा भड्किएको आपसी द्वन्द र विवादबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सबै नेपालीलाई सामाजिक सद्भाव, एकता र पारस्परिक सम्मान कायम राख्न आग्रह गर्नुभएको छ।
राजाका सम्वाद सचिव डा. फणीराज पाठकले बिहीबार सार्वजनिक गरेको सद्भाव सन्देशमा राजा ज्ञानेन्द्रले नेपाल निर्माणको शुरुवाती समयदेखि नै विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र रीतिथितिका नेपालीहरू परस्पर मिलिजुली तथा एकअर्काप्रति माया र सद्भाव राखेर बस्दै आएको उल्लेख गर्नुभएको छ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक चरित्र नै देशको विशिष्ट पहिचान र सम्मानको आधार भएको उल्लेख गर्दै उहाँले यस प्रकारको नेपाली विशेषता, गौरव र गरिमालाई गुम्न दिन नहुने बताउनुभएको छ।
“यो प्रकारको नेपाली विशेषता र गौरव–गरिमालाई हामीले गुम्न दिनु हुँदैन। कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन,” सन्देशमा उल्लेख गरिएको छ।
राजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरी जिल्लाका गाउँबस्तीमा भड्किएको आपसी द्वन्द र विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भूभागसम्म फैलिएको उल्लेख गर्नुभएको छ।
घटनापछि विभिन्न क्षेत्रको जनजीवन अशान्त बनेको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको जनाउँदै उहाँले सबै समुदायबीच सामञ्जस्य रहेको देशका रूपमा परिचित नेपालमा यस्ता अवाञ्छित घटना हुनु चिन्ताजनक रहेको बताउनुभएको छ।
उहाँले सामाजिक तथा धार्मिक असहिष्णुता नेपालको मौलिक मूल्य, मान्यता र परम्पराविपरीत रहेको स्पष्ट गर्नुभएको छ। देशका जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीलाई आपसी मतभेद त्यागेर मिलेर बस्न आग्रह गर्दै उहाँले राष्ट्रिय एकता र सद्भावलाई वर्तमान समयको प्रमुख आवश्यकता बताउनुभएको छ।
“जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो,” सन्देशमा उल्लेख गरिएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनामा गोली लागेका दुई जनाको मृत्यु भएको छ भने अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
निर्मल निवासस्थित सम्वाद सचिवालयबाट २०८३ साल श्रावण १४ गते जारी गरिएको सन्देशको अन्त्यमा राजा ज्ञानेन्द्रले ‘जय नेपाल’ उल्लेख गर्नुभएको छ।





