१९ भाद्र २०८३, शुक्रबार

सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर युवकको मृत्यु, सेना परिचालन

ड्रागन मिडिया समाचार कक्ष

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १९ वर्षीय गणेश यादव रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले पुष्टि गरेको छ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनाको विरोधमा सडकमा उत्रिएका दुई समूहका युवाबीच बिहीबार झडप भएको थियो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले गोली चलाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो। घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्ला प्रहरी प्रमुखबाट यादवको मृत्युबारे जानकारी प्राप्त भएको बताउनुभएको छ। “हामीलाई पनि भर्खरै एसपीसापले जानकारी गराउनुभएको हो, विस्तृत विवरण आउन बाँकी छ,” उहाँले भन्नुभएको छ।

युवकको मृत्युको खबर सार्वजनिक भएपछि प्रदर्शनकारी थप आक्रोशित बनेका छन्। स्थानीय प्रशासनले कर्फ्यु जारी गरे पनि प्रदर्शन पूर्ण रूपमा रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय सिरहाको आधिकारिक वेबसाइटमा गोलबजारसहित जिल्लाका प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको सूचना प्रकाशित गरिएको छ।

तनाव बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना सडकमा परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभएको छ। सुरक्षा निकायले मानिसलाई घरबाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

सुनसरीको कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएपछि सिरहा, सुनसरी र आसपासका क्षेत्रमा विरोध प्रदर्शन फैलिएको छ। गोलबजारमा यसअघि पनि प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारवाहीको माग गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button