१९ भाद्र २०८३, शुक्रबार

गोलबजारको एबी मलमा आगजनी, गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि एबी मलमा आगजनी भएको छ। सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीले मलमा आगजनी गरेका हुन्।

आगजनीबाट मलमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। सुरक्षाकर्मी तथा स्थानीय निकाय आगो नियन्त्रण र आसपासको क्षेत्र सुरक्षित बनाउने प्रयासमा परिचालित भएका छन्।

गोलबजार क्षेत्रमा प्रदर्शनका क्रममा झडप हुँदा गोली लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पुष्टि गर्नुभएको छ।

यादवलाई झडपका क्रममा गोली लागेको प्रारम्भिक विवरण प्राप्त भएको छ। गोली कसले चलाएको हो भन्नेबारे आधिकारिक अनुसन्धान तथा विस्तृत विवरण आउन बाँकी छ।

यादवको मृत्युपछि प्रदर्शन थप उग्र बनेको छ। प्रदर्शनकारीले सडकमा विरोध जारी राखेका छन् भने स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारसहित प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कार्यालयले श्रावण १४ गते जिल्लामा कर्फ्यु जारी गरिएको सूचना सार्वजनिक गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बराल जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत हुनुहुन्छ।

सुरक्षा निकायले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सामाजिक सद्भावमा असर पुग्ने अपुष्ट सूचना नफैलाउन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button