प्रतिनिधिसभा बैठक पाँच दिन स्थगित, विपक्षद्वारा निर्णयप्रति आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
प्रतिनिधिसभाको बैठक फेरि पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठक सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
प्रतिनिधिसभाको बैठक १६ दिनपछि बिहीबार बसेको थियो। यसअघि असार ३१ गते बैठक बसेको थियो।
सुनसरीबाट शुरु भएको तनाव तराईका विभिन्न जिल्लामा फैलिँदै गएको र जनजीवन प्रभावित भइरहेका बेला संसद बैठक लामो समयका लागि स्थगित गरिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्। जनप्रतिनिधिले जनताका समस्या उठाउने प्रमुख थलो संसदलाई राजनीतिक परामर्शबिनै स्थगित गरिएको उनीहरूको आरोप छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले बैठक पाँच दिन स्थगित गर्ने निर्णयबारे विपक्षी दलसँग कुनै छलफल नगरिएको बताउनुभएको छ।
“पाँच दिन संसद स्थगित गर्ने विषयमा हामीसँग सल्लाह भएको छैन। विपक्षीका आवाज बन्द गर्न यस्तो गरिएको हो कि?” उहाँले देश सञ्चारसँग भन्नुभएको छ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि बैठक केही दिन रोक्ने विषयमा आफूहरूसँग परामर्श नभएको बताउनुभएको छ। संसद बैठक शुक्रबार वा सोमबार राख्न सकिने अवस्था हुँदाहुँदै सल्लाहबिनै पाँच दिन पछाडि सारिएको उहाँको भनाइ छ।
“जनताका आवाजका रूपमा आउने विपक्षको भनाइ रोक्न यस्तो गरिएको हो। भोलि नभए सोमबार बैठक राख्न सकिन्थ्यो। सल्लाहबिनै पाँच दिन धकेलियो,” महरले भन्नुभएको छ।
देश संकटपूर्ण अवस्थामा रहेका बेला संसद स्थगित गर्दा लोकतान्त्रिक अभ्यास कमजोर हुने उहाँको जिकिर छ। सरकारलाई जवाफदेही बनाउन संसद सबैभन्दा बढी सक्रिय हुनुपर्ने समयमा बैठक रोकिएको महरले बताउनुभएको छ।
संसद सचिवालयले भने आवश्यक कार्यसूची अभावका कारण बैठक केही दिनका लागि स्थगित गर्नुपरेको जनाएको छ। सचिवालयका एक अधिकारीका अनुसार सरकारले केही विधेयक संसदमा दर्ता गर्ने निर्णय गरे पनि ती विधेयक सदनमा पेश गर्नुअघि नियमावलीअनुसार निश्चित समय कुर्नुपर्ने हुन्छ।
“संसदमा तत्काल अघि बढाउन पर्याप्त विजनेश छैन। सरकारले ल्याउन लागेका विधेयक पेश गर्न कम्तीमा पाँच दिन कुर्नुपर्ने व्यवस्था भएकाले पनि बैठक स्थगित गरिएको हो,” ती अधिकारीले बताएका छन्।
सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जबाट शुरु भएको तनाव धनुषा, सप्तरी र पर्सासहित तराईका विभिन्न जिल्लामा फैलिएको छ। केही क्षेत्रमा कर्फ्यु जारी भए पनि प्रदर्शन भइरहेका छन्। हिंसा नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना बढिरहेका बेला संसद बैठक स्थगित भएको हो।





