१९ भाद्र २०८३, शुक्रबार

देशको परिस्थिति जटिल बन्दै गएको भन्दै ओलीको चारबुँदे अपिल

ड्रागन मिडिया समाचार कक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र सिरहासहित विभिन्न स्थानमा बढ्दै गएको तनाव, राज्य पक्षबाट भएको बल प्रयोग तथा मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयमता, सामाजिक सद्भाव, राजनीतिक सहकार्य र राष्ट्रिय एकताका लागि चारबुँदे अपिल गरेका छन्।

एमाले केन्द्रीय कार्यालयबाट बिहीबार जारी प्रेस वक्तव्यमा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनदेखि उत्पन्न तनावपूर्ण परिस्थिति र त्यस क्रममा भएको बल प्रयोगप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले देवानगञ्ज घटनामा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको तथा बिहीबार सिरहामा गणेश यादवको गोली लागेर ज्यान गएको घटनाले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन्। घटनामा अन्य नागरिक गम्भीर घाइते भएको उल्लेख गर्दै उनले हिंसात्मक घटनाक्रम रोकिनुको सट्टा सिरहालगायत विभिन्न स्थानमा झन उग्र बन्दै गएको बताएका छन्।

ओलीले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

मुलुक जटिल र संवेदनशील अवस्थामा पुगेको उल्लेख गर्दै ओलीले नागरिक, राजनीतिक दल तथा सरोकारवालासमक्ष चारबुँदे अपिल प्रस्तुत गरेका छन्।

पहिलो बुँदामा उनले संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। नागरिकबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल भएको उल्लेख गर्दै उनले जनतालाई विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गरेका छन्।

एमाले र अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न, संयमित रहन तथा सामाजिक सद्भाव र एकता कायम राख्न सक्रिय हुन उनले अनुरोध गरेका छन्।

दोस्रो बुँदामा ओलीले सरकारको भूमिका र मौनतामाथि प्रश्न उठाएका छन्। नागरिकको जीवन रक्षा गर्नु, संवादका माध्यमबाट समस्याको समाधान गर्नु र देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व भएको उनको भनाइ छ।

राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद तथा भर्त्सनायोग्य भएको ओलीले बताएका छन्। उनले हिंसात्मक कदम तत्काल रोक्दै अविलम्ब संवादका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

तेस्रो बुँदामा ओलीले राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा, आरोप प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

चौथो बुँदामा उनले राष्ट्रिय एकता र शान्तिका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्। द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै उनले संवाद, सहमति र जिम्मेवार सहकार्यले मात्रै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिन सक्ने बताएका छन्।

राष्ट्रको अस्तित्व, शान्ति सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको भन्दै ओलीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक र सामाजिक सम्प्रदायका अगुवालाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button