१९ भाद्र २०८३, शुक्रबार

वीरगञ्जमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा

ड्रागन मिडिया समाचार कक्ष

पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकामा शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३क बमोजिम निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा २०८३ साल साउन १४ गते बिहीबार साँझ ५ बजेदेखि साउन १५ गते शुक्रबार बिहान ६ बजेसम्म लागू हुनेछ।

निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

आदेश लागू भएको अवधि र निर्धारित सीमाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा जम्मा वा भेला हुन पाइने छैन। सभा, जुलुस, प्रदर्शन तथा सार्वजनिक भीडभाड गर्नसमेत निषेध गरिएको छ।

स्थानीय प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारवाही गरिने जनाएको छ।

देशका विभिन्न स्थानमा प्रदर्शन र तनाव बढिरहेका बेला सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button